close

कार्यपालिका सदस्य सहकारीकाे जागिरे !

कार्यपालिका सदस्य सहकारीकाे जागिरे !

Trulli
ADVERTISEMENT

संखुवासभा- संखुवासभाको पाँचखपन नगरपालिका कार्यपालिका एक सदस्यले सहकारीको कर्मचारी बनेर मासिक १७ हजार रुपैयाँ तलब बझ्दै आएको रहस्य खुलेको छ ।

 

पाँचखपन नगरपालिकाका कार्यपालिका सदस्य सीता तामाङले नगरमा रहेको गुप्तेश्वर साना किसान कृषि सहकारी संस्थाको प्रबन्धक पदमा रहेर मासिक तलब बुझिरहेकी छन् । 

 

लाभको पदधारण गरेका व्यक्तिले राजीनामा दिएर मात्र चुनावमा उम्मेरदवार हुनुपर्ने प्रस्ट व्यवस्था छ । कार्यपालिका सदस्य तामाङ न्यायिक समितिका सदस्य, सामाजिक विकास समितिका संयोजकसमेत हुन् ।

 

तामाङले कृषि सहकारीबाट मासिक १७ हजार रुपैयाँ तलब खाने गरेको सहकारी संस्थाका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए । गुप्तेश्वर सहकारी वानामा सेवा केन्द्र सञ्चालन गरेर नगरपालिका क्षेत्रमा मल बिक्री वितरणसमेत गर्ने गरेको छ ।

 

उक्त सहकारीमा ३ जना कर्मचारी छन् । १ जना स्थायीसहित कार्यपालिका सदस्य तामाङ सहकारीको विशिष्ट प्रबन्धक पदमा रहेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । 


जनप्रतिनिधि कुनै निजी तथा सरकारी संघ-संस्थामा कर्मचारीको रूपमा रहन नमिल्ने अधिवक्ता भवानीप्रसाद आचार्यले बताए । ऐन-कानुनको आधारमा कुनै एउटा पदमा मात्र कायम रहनु र अवैध रूपमा रहेर अन्यत्र सेवा गरिरहेको भए त्यसबाट प्राप्त आम्दानी असुल्नुपर्ने व्यवस्था रहेको उनले दाबी गरे ।

 

तत्कालीन अवस्थामा विवाद नआएकै कारण पनि तामाङले छुट पाएको हुन सक्ने अधिवक्ता आचार्यको भनाइ छ । उनले भने, निहित स्वार्थमा रहेर अवैध रूपले निर्वाचनमा सहभागी भई दोहोरो पदधारण गर्नु गैरकानुनी हो । यसलाई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, भ्रष्टाचार निवारण ऐन, निर्वाचन आयोग ऐनलगायतले रोक्न सक्नुपर्ने हो ।’

 

सहकारी संस्थाकी प्रबन्धक तथा कार्यपालिका सदस्य तामाङ भने जनप्रतिनिधि भए पनि काम गर्न मिल्ने दाबी गर्छिन् । सहकारीको कामबाहेक अन्य समय जनप्रतिनधिकोे रूपमा सेवा गरिरहेको तर्क उनको छ । कर्मचारी हुन कुनै पनि ऐनले नछेक्ने कार्यपालिका सदस्य तामाङले दाबी गरिन् ।