close

स्थानीय सरकारको लगानीमा राष्ट्रिय गोल्ड कप

स्थानीय सरकारको लगानीमा राष्ट्रिय गोल्ड कप

Trulli
ADVERTISEMENT

मकवानपुर- मकवानपुरका १० वटा स्थानीय तहको लगानीमा राष्ट्रिय स्तरको गोल्ड कप हुने भएको छ । जिल्ला फुटबल संघ मकवानपुरले सहिद स्मृति स्थानीय तह गोल्ड कप गर्न लागेको हो ।

 

गोल्ड कपका लागि जिल्लाका स्थानीय तहबाट ६५ लाख रुपैयाँ जुटेको छ । जिल्ला समन्वय समितिमा भएको स्थानीय तह समन्वय बैठकले गोल्ड कपका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

 

जिल्लाका ८ वटा गाउँपालिकाले ५ लाख, थाहा नगरपालिकाले १० लाख र हेटौंडा उपमहानगरले १५ लाख रुपैयाँ गोल्ड कपका लागि सहयोग गर्दै छन् ।

 

गोल्ड कप गर्न यसअघि नै जिल्लाका गाउँपालिकाले ५ लाखका दरले र नगरपालिकाले १० लाख तथा उपमहानगरले १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएअनुसार रकम उपलब्ध गराउने स्थानीय तह समन्वय बैठकबाट निर्णय भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघु खुलालले जानकारी दिए । 

 

स्थानीय तह गोल्ड कप यसअघि नै आयोजना भइसक्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण गोल्ड कप आयोजना गर्न नसकिएको फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताए ।


‘हामीलाई गोल्ड कप गर्न स्थानीय तहबाट प्रतिबद्धता भएको रकमको सहयोग निश्चित भयो । अब संघको बैठक बसेर तयारी अगाडि बढाउँछौँ’, लामाले भने ।

 

गोल्ड कप विजेतालाई १० र उपविजेतालाई ५ लाख रुपैयाँ प्रदान गरिने संघका अध्यक्ष लामाले जानकारी दिए । यस्तै, विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २५ हजार, हरेक खेलको म्यान अफ द म्याचलाई १० हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

यसैगरी जिल्ला समन्वय समितिको आयोजनामा जिल्लास्तरीय स्थानीय तह फुटबल प्रतियोगिता पनि हुने भएको छ । समितिले आयोजना गर्ने प्रतियोगितामा भने जिल्लाका १० वटै स्थानीय तहको फुटबल टिमले सहभागिता जनाउनेछन् । 


जिल्ला समन्वय समितिले जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा आगामी चैतमा स्थानीय तह स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको समितिका प्रमुख खुलालले बताए ।