close

स्मार्ट दोलखा निर्माण अभियान सुरु

स्मार्ट दोलखा निर्माण अभियान सुरु

Trulli
ADVERTISEMENT

दोलखा- नेपाल सरकारका सञ्चारमन्त्री एवं प्रवक्ता पार्वत गुरुङले दोलखा सदरमुकाम चरीकोमा जिल्ला समन्वय समितिद्वारा आयोजित कार्यक्रममा स्मार्ट दोलखा निर्माण अभियान सुरु गरेका छन् ।

 
डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत देशका ७७ वटै जिल्लामध्ये पहिलो पटक गृहजिल्ला दोलखाबाट मन्त्री गुरुङले यो अभियान सुरु गरेका हुन् । 


कार्यक्रममा अप्टिकल फाइबर बिछ्याइएको टेलिफोनबाट दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीलाई फोन गरेर शान्ति-सुरक्षाको अवस्था र निर्वाचनको तयारीका सन्दर्भमा भनेर मन्त्री गुरुङले सोधेका थिए । 

राज्यले दिने सेवा-सुविद्या जनतामा छिट-छरितो पुर्‍याउन, भ्रष्टाचार नियन्त्रण गर्न सरकारले डिजिटल नेपाल बनाउने अभियान सुरु गरेको मन्त्री गुरुङले बताए ।

 

स्मार्ट नेपालको अभियानमा स्मार्ट दोलखा पहिलो खुड्किलो भएको उनको दाबी छ । दोलखालीले मत दिएर विजय गराएकाले गृहजिल्लाबाटै अभियान सुरु गरिएको उनले बताए ।

 

‘समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानको अभिन्न अंग नै डिजिटल नेपाल फ्रेमवर्कको स्मार्ट नेपाल हो’, मन्त्री गुरुङले भने । मन्त्री गुरुङले भीमेश्वर नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष नवीन लामालाई डिजिटल प्राविधि हस्तान्तरण गरी अभियान सुरु गरेका थिए ।

 

पहिलो चरणमा दोलखाका १ सय ३६ वटा माध्यमिक तथा आधारभूत विद्यालयलाई इन्टर सेवा, डिजिटल ल्याब, स्मार्ट बोर्ड, स्मार्ट टेलिभिजन व्यवस्था गरिने उनले जानकारी दिए ।

 

दोलखाका सम्पूर्ण ग्रामीण क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउने, वायरलेस सेवा, भीस्याट सेवा पुर्‍याउने अभियान अगाडि बढिरहेको मन्त्री गुरुले बताए ।

 
देशभरिका सबै वडामा, सबै विद्यालयमा, सबै स्वास्थ्य संस्थामा यो सेवा उपलब्ध गराई स्मार्ट नेपाल, डिजिटल नेपाल बनाउने सरकारले निर्णय गरिसकेको मन्त्री गुरुङको भनाइ छ ।

 
‘हरेक पालिकाका महत्त्वपूर्ण स्थलमा फ्रि वाईफाई बनाउने सरकारको नीतिलाई स्मार्ट नेपाल, डिजिटल नेपाल बनाउने अभियानले पूर्ण रूपमा साथ दिनेछ’, मन्त्री गुरुङले भने । 

 

मन्त्री गुरुङका साथ मन्त्रालयका सचिवदेखि नासुसम्मका कर्मचारी लिएर गृहजिल्ला आएका मन्त्री गुरुङले फागुनभित्र स्मार्ट दोलखा निर्माण गरिसक्ने प्रतिबद्धता जनाए ।