close

महालक्ष्मी मेयर कपको उपाधि सिधुवालाई

महालक्ष्मी मेयर कपको उपाधि सिधुवालाई

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिकाको जितपुरमा सञ्चालित दोस्रो महालक्ष्मी मेयर कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि सिंहदेवी युथ क्लब सिधुवाले जितेको छ । 

 

मंगलबार भएको फाइनलमा आयोजक जितपुर ‘ए’ लाई ट्राइबेकरमार्फत ३-१ गोलअन्तरले पराजित गर्दै सिधुवाले उपाधि प्राप्त गरेको हो ।


टिम क्याप्टेन जितपुरका मनीष गुरुङले खेलको सुरुआती चरणमा कर्नरबाट आएको बललाई हेडमार्फत गोल गरेका थिए ।

 

पहिलो हाफमा जितपुरले अग्रता लिए पनि दोस्रो हाफमा सिधुवाका नरेन विकले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्‍याएसँगै निर्धारित समय टुंगिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

 

ट्राइबेकरमा सिधुवाका सन्तु लिम्बू, वीरेन चेम्जोङ र नरेन विकले समान १-१ गोल गरे भने रुपेश याखाको गोलले उपाधि सिंहदेवी युथ क्लब सिधुवाले जितेको छ ।


उपाधिसँगै सिधुवाले १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जितपुरले ५० हजार रुपैयाँ पाएको छ । 

 

फाइनलको उत्कृष्ट खेलाडी सिधुवाका गोलकर्ता नरेन विक घोषित भए भने जितपुरका मनीष गुरुङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । 

 

त्यस्तै, सिधुवाका विजय गुरुङ उत्कृष्ट गोलरक्षक र लालीगुराँसका रोम खड्का सर्वाधिक गोलकर्ता बन्दै पुरस्कृत भए ।


वसन्त पञ्चमी अवसर पारेर महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समिति महालक्ष्मीले प्रतियोगिता सञ्चालन गरेको हो । 

 

५ दिनसम्म सञ्चालित प्रतियोगिताको उपाधिका लागि धनकुटा, भोजपुर, तेह्रथुम र झापाका १६ टिमबीच प्रतिस्पर्धा भएको थियो ।


विजेता टिम तथा खेलाडीलाई प्रदेश सांसद इन्द्रमणि पराजुली, महालक्ष्मी नगरप्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु अधिकारीलगायतले पुरस्कार प्रदान गरे ।