close

कृषि बिमाको पहुँचमा छैनन् किसान, कृषि बालीको बिमा शून्य

कृषि बिमाको पहुँचमा छैनन् किसान, कृषि बालीको बिमा शून्य

Trulli
ADVERTISEMENT

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मजगैयाका बाबुराम घिमिरे ५ वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध छन् । सरकारले कृषि बिमा योजना ल्याए पनि अहिलेसम्म यसमा समेटिन नपाएको उनी सुनाउँछन् ।

 

‘व्यावसायिक कृषिलाई निरन्तरता दिएको छु,’ उनले भने, ‘कृषि बिमा किसानको पहुँचमा छैन । हामीले थाहा पाएर पनि लाभ लिन सकिरहेका छैनौँ । कतिपयले त थाहै पाउन सकिरहेका छैनन् ।’

 

तुलसीपुर उपमहानगरको वडा नम्बर १४ का ऋषिराज रावतले करिब ४ बिघा जग्गामा कागती खेती गरिरहेका छन् । अहिलेसम्म कृषि बिमाबारे जानकारी नपाउँदा बिमा गर्नै नसकेको उनले सुनाए ।

 

‘कागती खेतीको पनि बिमा हुन्छ भन्ने थाहा पाएको थिएँ । यसको पनि बिमा गर्न पाइन्छ भन्ने थाहा पाएको भए अहिलेसम्म गरिसक्थेँ,’ उनले भने, ‘बिमा हुन्छ भन्ने अहिलेसम्म मलाई कसैले भनेको छैन ।’

 

उपमहानगरको कृषि शाखाले तुलसीपुरमा आयोजना गरेको कृषि बिमा अभिमुखीकरणमा सहभागी भएका उनले बिमाको फाइदाबारे आफूले पहिलो पटक जानकारी पाएको बताए । ‘अब म कागती खेतीको बिमा गर्छु’, उनले भने, ‘पुँजीको सुरक्षा हुने भएपछि किन बिमा नगर्नू ?’


कृषि बिमाबारे सचेतना दिन नसकिँदा बिमा गराउने किसानको संख्या बढ्न नसकेकाले अभिमुखीकरण गरिएको कृषि शाखाप्रमुख धनराज गौतमले जानकारी दिए ।

 

‘किसानसम्म जानकारी पु¥याउन तिनलाई समय–समयमा अभिमुखीकरण गरिरहन्छौँ’, उनले भने, ‘कृषि बिमाका लागि व्यावसायिक रूपमा कृषि खेती गरिएको हुनुपर्दैन । परम्परागत खेती किसानी गरिरहेकाले पनि बिमा गर्न सक्छन् ।’

 

सरकारले कृषिको प्रवद्र्धनका लागि कृषि बिमा कार्यक्रम ल्याएको उनको भनाइ छ । कृषिको बिउ पुँजी सुरक्षित गर्न किसानमा कृषि बिमाबारे सचेतना पुग्न जरुरी रहेको उनले बताए । 

 

‘किसानले पनि यस विषयमा जानकारी, चासो राख्न आवश्यक छ,’ उनले भने, ‘पँुजी सुरक्षित गर्न सकिन्छ भने बिमा गर्न किन डराउने ?’ गौतमले तुलसीपुरमा कृषि बिमाका लागि १२ जना अभिकर्ता रहेको जानकारी दिए ।

 

पशु सेवा शाखाका प्रमुख सुवास आचार्यले घोडाबाहेकका सबै पशुपक्षीको बिमा गर्न सकिने बताए । ‘पशुपक्षी सबैको कृषि बिमा हुन्छ, घोडाको मात्रै हुँदैन,’ उनले भने, ‘अरू सबैको बिमा गर्न सकिने भएकाले किसानले ध्यान दिन आवश्यक छ ।’

 

कृषि बिमाको प्रिमियममा सरकारले ७५ प्रतिशत बेहोर्ने र किसानले प्रिमियमको २५ प्रतिशत रकम मात्र तिर्नुपर्ने उनको भनाइ छ । ‘बिमाको लाभ लिन व्यावसायिक फर्म आवश्यक पर्दैन,’ उनले भने, ‘प्रिमियमको २५ प्रतिशत मात्रै रकम किसानले बुझाउनुपर्छ । अरू सबै सरकारले बेहोर्छ । यो भनेको निर्जीवन बिमा हो ।’

 

कृषि बिमा गरिरहेको नेसनल इन्स्योरेन्स दाङका सञ्जय श्रीवास्तव दाङमा कृषि बिमालाई प्रभावकारी बनाउन अभिकर्ता गाउँ–गाउँ पठाउन थालेको सुनाउँछन् । ‘दाङमा कृषि खेतीको बिमा गर्ने किसानको संख्या अहिलेसम्म शून्य छ,’ उनले भने, ‘किसानमा कृषि बिमाको सचेतना पुग्न नसकेर हो वा झन्झट भएर हो । अहिलेसम्म कृषि खेतीको बिमा हुन सकेको छैन ।’

 

कृषि ज्ञान केन्द्र दाङका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेलका अनुसार करिब ७५ वटा किसानले मात्रै पशुपक्षी बिमा गराएका छन् ।कृषि निर्देशिका, २०७७ मा गाई, भैँसी, घोडा, सुंगुर, घरपालुवा जनावर, पंक्षीजन्य कुखुरा, माछा, रेशम किरा र अन्य पशुपक्षीको बिमा गर्न सकिन्छ भने वनस्पतितर्फ अन्नबाली, दलहन, तेलहन, तरकारी, च्याउ, फलफूल, कन्दमूल, मसला, जडीबुटी, घाँसेबाली, खाद्यान्नलगायत बालीको बिमा गर्न सकिने उल्लेख छ ।