close

धनकुटालाई प्रथम उपमेयर कप खुला महिला भलिबलको उपाधि

धनकुटालाई प्रथम उपमेयर कप खुला महिला भलिबलको उपाधि

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर ५ स्थित तल्लो टुँडिखेलमा मंगलबार सम्पन्न प्रथम उपमेयर कप खुला महिला भलिबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले आफ्नो पोल्टामा पारेको छ ।

 

धनकुटाको आर्थिक सहयोग तथा जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा नगरपालिकाले सहिदभूमि गाउँपालिकालाई २५–१८, २५–६, र २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

 

उक्त प्रतियोगिताको विजेता टिम धनकुटाले नगद ४० हजारसहित ट्रफी हात पारेको छ भने उपविजेता सहिदभूमिले २० हजार रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी धनकुटाकी शान्ता राई, उत्कृष्ट सेभर धनकुटाकै प्रमिका राई घोषित भए । यस्तै, प्रतियोगिताको बेस्ट स्पाइकर धनकुटानगरकी हेमिना राई र उत्कृष्ट डिफेन्स सहिदभूमिकी जानुका राई घोषित भए ।

 

प्रतियोगिताको अनुशासित टिम साँगुरीगढी गाउँपालिका घोषित भएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई विधाअनुसार पुरस्कृत गरियो भने अनुशासित टिमलाई जिल्ला भलिबल संघका कोषाध्यक्ष दिनेशराज सुवेदीले पुरस्कार सौजन्य गरेका थिए । 

 

उपाधिका लागि धनकुटा जिल्लाभरका ९ टिमबीच प्रतियोगिता गराइएको जिल्ला भलिबल संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले बताए ।

 

प्रतियोगिताका विजेता तथा उप–विजेता खेलाडीलाई धनकुटा नगरपालिका उपप्रमुख शकुन्तला बस्नेत, सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नेश्वरी राईलगायतले नगद, ट्रफि, मेडल, प्रमाणपत्र वितरण गरेका थिए ।