close

फापरबारीमा फुटबल खेलाउँदै बागमती 

फापरबारीमा फुटबल खेलाउँदै बागमती 

Trulli
ADVERTISEMENT

मकवानपुर- मकवानपुरको बागमती गाउँपालिकाले राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले ‘बागमती गोल्डकप राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता२०७७’ को चौथो संस्करण गर्न लागेको हो । 

 

यसअघि गाउँपालिकाको मुख्य प्रायोजनमा बागमती गाउँपालिका खेलकुद विकास समितिले गोल्डकपको तेस्रो संस्करण आयोजना गरिसकेको छ । आगामी चैत दोस्रो सातादेखि राष्ट्रिय स्तरको गोल्डकप फुटबल प्रतियोगिता गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।


चौथो बागमती गोल्डकप १३ देखि २२ चैतसम्म बागमतीको वडा नम्बर ८ फापरबारीस्थित जनता माविको खेल मैदानमा हुने गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । गोल्डकपको पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ ।

 

विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार रुपैयाँबाट सुरु गोल्डकप चौथो संस्करणसम्म आइपुग्दा क्रमशः ८ लाख र ४ लाख रुपैयाँ पुरस्कार वृद्धि गरिएको बागमती गाउँपालिका खेलकुद समिति अध्यक्ष भीमबहादुर राईले बताए ।

 

अघिल्लो वर्ष भएको गोल्डकपको तेस्रो संस्करणमा पुरस्कार राशि विजेतालाई ६ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ थियो । गोल्डकपमा ए डिभिजनका क्लब र मोफसलका क्लबसहित करिब १० टिमको सहभागिता रहने अध्यक्ष राईले बताए ।

 

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५१ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ दिइनेछ । यसैगरी प्रत्येक खेलका म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र दिइने समितिका सचिव प्रमोद राईले बताए ।


प्रतियोगिताका लागि कुल ७७ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । बागमती गाउँपालिकाले प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ बजेट छुट्याएको अध्यक्ष घलानले जानकारी दिए । 

 

अध्यक्ष घलानले गाउँमै व्यावसायिक खेलाडी उत्पादन गर्ने र शैक्षिक स्तरलाई उकास्न गोल्डकप आयोजना गरिएको बताए । बागमती गाउँपालिका राष्ट्रिय स्तरको फुटबल आयोजना गर्ने मकवानपुरकै एक मात्र स्थानीय तह हो ।