close

पालिका अध्यक्षले बोलाएकाे बैठक वडाध्यक्षले गरे वहिष्कार

पालिका अध्यक्षले बोलाएकाे बैठक वडाध्यक्षले गरे वहिष्कार

Trulli
ADVERTISEMENT

मकवानपुर- मकवानपुरको दुर्गम क्षेत्र कैलाश गाउँपालिकाको कार्यपालिका बैठक वडाध्यक्षहरूले वहिष्कार गरेका छन् । वडाध्यक्षहरूले गाउँपालिका अध्यक्ष टंक मोक्तानको जबर्जस्तीविरुद्ध कार्यपालिका बैठक वहिष्कार गरिएको बताएका हुन् ।

 

५ नम्बरका वडाध्यक्ष छेकु लामा, ६ नम्बरका वडाध्यक्ष ठूलोकान्छा लामा, सदस्य लक्ष्मी मोक्तान, ७ नम्बरका वडाध्यक्ष उदास भोलोन, ८ नम्बरका वडाध्यक्ष सूर्यबहादुर थिङ र १० नम्बरका वडाध्यक्ष माणिकलाल मोक्तानले बैठक वहिष्कार गरेका हुन् ।

 

गाउँपालिका अध्यक्ष मोक्तानले कार्यपालिका बैठक बोलाउने र तोकिएको समयमा सञ्चालन नगरेको उनीहरूको दाबी छ । ‘गाउँपालिका अध्यक्षले बैठक जानाजान तोकिएको समयभन्दा घन्टौँ ढिलो सञ्चालन गर्नुहुन्छ । हामी टाढाबाट आएका हुन्छौँ । फर्कन हतार हुन्छ । समस्या भयो,’ १० नम्बरका वडाध्यक्ष मोक्तानले भने ।

 

बैठक ढिलो बस्दा प्रस्तुत एजेन्डामाथि पनि आवश्यक छलफल गर्न नपाइएको उनको गुनासो छ । ‘बैठक ढिला बस्नुपरेपछि चाँडै उठ्न हतार हुन्छ । आफ्ना कुरा राख्न र एजेन्डामाथि छलफल नहुने भएपछि किन बैठक राख्नू ?’ मोक्तानले भने । 

 

अध्यक्ष मोक्तानले बैठकमा आफूखुसी निर्णय गर्दै आएको आरोप वडाध्यक्षहरूको छ । उनीहरूले अध्यक्ष मोक्तानसँग यस विषयमा धेरै पटक कुरा गरे पनि बेवास्ता भएको बताए ।


‘धेरै पटक बैठक समयमै राख्नुपर्‍यो भनिसक्यौँ । तर, अध्यक्षले हाम्रो कुरालाई ध्यानमा राख्नुहुँदैन, सधैँ त्यस्तै गर्नुहुन्छ,’ ५ नम्बरका वडाध्यक्ष लामाले सुनाए । कार्यपालिका बैठकबारे सूचना केही दिनअघि नै दिइनुपर्ने उनको माग छ ।

 

कैलाश गाउँपालिकाको कार्यपालिका बैठक विगतमा पनि कार्यपालिका सदस्यहरूले वहिष्कार गर्दै आएका थिए ।