close

मुसीकोटको दोस्रो चौमासिक समीक्षा गोष्ठी सम्पन्न

मुसीकोटको दोस्रो चौमासिक समीक्षा गोष्ठी सम्पन्न

Trulli
ADVERTISEMENT

गुल्मी(मुसिकोट)- गुल्मीको मुसीकोट नगरपालिकाको वडा नम्बर ५ को आँपचौर प्राविधिक शिक्षालयको सभाहलमा आर्थिक वर्ष २०७७/७८ चौमासिक गोष्ठी समापन भएको छ ।


गोष्ठीमा मुसीकोट नगरपालिकाको विनियोजित बजेट, संघ र प्रदेशको समपूरक बजेटको भौतिक तथा वित्तीय प्रगतिको दोस्रो चौमासिक (फागुन मसान्त) सम्म भएको कामबारे समीक्षा गरिएको थियो ।

 

समीक्षा कार्यक्रमले बाँकी रहेका काम आगामी तेस्रो चौमासिक कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए ।


गोष्ठीमा नगरपालिकाका शाखा प्रमुखले आफ्नो शाखाको भौतिक तथा वित्तीय प्रगति पेस गरेका थिए । कृषि शाखा प्रमुख टोपबहादुर वली, पशु सेवा शाखा प्रमुख महेन्द्रराज पन्थी, स्वास्थ्य शाखा प्रमुख डिबी जिसी, प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे र समग्र नगरपालिकाका बारेमा प्रमुख प्रशासकीय अधिकृत भुसालले प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

 

नगर प्रमुख सोमनाथ सापकोटाले दोस्रो चौमासिक समापनसम्म नगरपालिकाको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक रहेको र अबको तेस्रो चौमासिक सबैले समयमै काम सम्पन्न गर्न सहयोग पुर्‍याउनुपर्ने बताए ।

 

छलफलमा आफ्ना जिज्ञासा, सुझाव तथा कार्यान्वयनमा रहेका कामबारे वडाध्यक्ष कर्णबहादुर घर्ती क्षेत्री, वडाध्यक्ष प्रकाश काफ्ले, वडा सदस्य दलबहादुर थापा, नेपाल रेडक्रस सोसाइटी वामी शाखा सभापति ज्ञानहरि सापकोटा, पृथ्वी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समाजसेवी खुमबहादुर थापालगायतले आ-आफ्नो विचार राखे ।

 

नगर प्रमुख सापकोटाको अध्यक्षता, उप-प्रमुख कमला शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, साझेदार संस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधि, उपभोक्ता समितिका प्रतिनिधिलगायत उपस्थित थिए ।

 

कार्यक्रममा सहजीकरण सूचना प्रविधि शाखा प्रमुख समुन्द्रविक्रम रायमाझी र सञ्चालन योजना शाखा प्रमुख मुना ज्ञवालीको रहेको थियो ।