close

निःशुल्क गाडी, मर्मतमा १० लाख स्वाहा

निःशुल्क गाडी, मर्मतमा १० लाख स्वाहा

Trulli
ADVERTISEMENT

कालीकोट– कालीकोटको रास्कोट नगरपालिकाले एउटा गाडी मर्मतमै १० लाख रुपैयाँ खर्चिएको पाइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रास्कोट नगरपालिकालाई पुरानो भइसकेको गाडी मर्मत गरेर चलाउन भन्दै निःशुल्क दिएको थियो ।

 

निःशुल्क गाडी मर्मतमै १० लाख रुपैयाँ खर्च भएको भनी भुक्तानी दिएको पाइएको हो । १० लाख रुपैयाँ खर्च गरी मर्मत गरिएको गाडीलाई नगरप्रमुख काशिचन्द बराल, उप–प्रमुख मिमसरा बम र कर्मचारीले प्रयोग गर्नेछन् ।

 

४५ लाख रुपैयाँमा खरिद गरिएको नगरपालिकाको गाडी पनि मेयर, उप–मेयर र कर्मचारीले मान्मदेखि सुर्खेत, नेपालगञ्ज, काठमाडौंलगायत क्षेत्रका लागि कर्णालीवारि हुल्म बजारमा राखिएको छ  । नगरपालिकादेखि जिते बजारसम्मका लागि भनेर  मन्त्रालयबाट निःशुल्क गाडी ल्याइएको बुझिएको छ ।

 

१० लाख खर्चिएर ल्याएको गाडी नगरपालिका नपुग्दै बाटोमै थन्कियो 

 

१० लाख रुपैयाँ मर्मतमै खर्च गरी ल्याइएको गाडी नगरपालिका नपुग्दै बाटोमै बिग्रेर थन्किएको छ । काठमाडांैबाटै मर्मत गरी बाटोमा चलाएरै आएको गाडी शान्तिघाटको उकालोमा बिग्रिएर थन्किएको हो ।

 

नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमका अनुसार गाडी काठमाडौंबाट चलाएरै ल्याइएको हो । अगाडिको हेडलाइटले काम नगरेको र मेसिनमा खराबी आए पनि सामान्य मर्मत गरे चल्न सक्ने गाडी चालकले बताए । 

 

नगरपालिकाले आफू चढ्न २÷२ वटा गाडी खरिद गर्नु उचित नभएको स्थानीय बताउँछन् । ‘जनताका लागि एउटा नगर बसको आवश्यक थियो । अहिलेसम्म यो व्यवस्था गर्न सकेको छैन । आफ्ना लागि भने हाइलेक्स गाडी खरिद गरेको छ’, स्थानीय रत्न विकले भने, ‘बिरामी बोक्न एउटा एम्बुलेन्स मात्र छ । त्यही पनि आवश्यक परेका बेला पाइँदैन ।’

 

नगरपालिकाले खरिद गरेको टिपर भने दुर्घटना भएर गत वर्षै कर्णाली नदीमा खसेको छ । रास्कोट नगरपालिकाले गाडी खरिदमै करिब २ करोड रुपैयाँ खर्चिएको पाइएको छ  । ८० लाखमा स्काभेटर, ४५ लाखमा नगरपालिकाको हाइलेक्स गाडी, ४० लाखको टिपर, १३ लाखको एम्बुलेन्स र १० लाख रुपैयाँ मर्मत गरी ल्याएको गाडी गरी २ करोड रुपैयाँ पुगेको हो ।

 

४० लाखको टिपर गत वर्ष लालिघाट बजारस्थित कर्णाली करिडोरमा लकडाउनमा भारतबाट उद्धार गरी ल्याएकालाई नगरपालिकामा ल्याउने क्रममा दुर्घटना भई कणाली नदीमा खसेको थियो ।