close

प्रधानमन्त्रीले किन स्वीकारेनन् कटारी नगरप्रमुखको निवेदन

प्रधानमन्त्रीले किन स्वीकारेनन् कटारी नगरप्रमुखको निवेदन

Trulli
ADVERTISEMENT

कटारी (उदयपुर)- सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ मरुवामा ५ वटा टावरको रुट परिवर्तनका लागि माग गर्न पुगेको नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठसहितको टोलीलाई प्रधानमन्त्री केपी ओलीले टावर सार्न नसकिने बताएर फर्काएका छन् ।

 

गाउँबाट राख्न खोजिएको टावर अन्यत्र सार्न भन्दै जनप्रतिनिधि तथा सरोकारवाला लिएर पुगेका नगरप्रमुख श्रेष्ठसहितको टोलीलाई बिहीबार साँझ प्रधानमन्त्री ओलीले टावर अन्यत्र सार्न नसकिने बताएर फर्काएका हुन् । 

 

ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरणलगायत निकायमा ४ वर्षदेखि डेलिगेसन जाँदा पनि समस्या समाधान नभएपछि नगरप्रमुखको टोली प्रधानमन्त्रीसमक्ष पुगेको थियो ।

 

‘प्रधानमन्त्रीले पनि सार्न नसकिने धारणा राख्नुभयो, नगरप्रमुख श्रेष्ठले भने, ‘हामीले समस्या राख्यौँ तर टावर सार्न नमिल्ने प्रधानमन्त्रीको धारणा आयो ।’

 

लामो समयदेखि अवरुद्ध आयोजनाका विषयमा यसअघि पनि पटक–पटक छलफल हुँदै आएको छ । प्रसारण लाइनको बाटो (राइट अफ वे ) को टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राखेर स्थानीयले काममा अवरोध गर्दै आएका छन् ।

 

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ २०७६ देखि व्यावसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ ।

 

सिराहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । यसमध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

 

कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टाङ्ने कामसमेत सकिएको छ । उक्त प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । 

 

नेपाल विद्युत् प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३ सय २५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ । २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो ।

 

कटारीको वडा नम्बर ४ मरुवाका स्थानीयले गाउँमा पर्ने टावर राख्न नदिएपछि प्रसारण लाइनको काम मरुवामै अवरुद्ध भएर बसेको छ । अन्यत्र काम सकिएको छ । जारी अवरोधको समस्या समाधान गर्न १२ चैतमा ऊर्जामन्त्री टोपबहादुर रायमाझी वडा नम्बर ४ को मरुवा आएका थिए । तर, स्थानीयको विरोधपछि मन्त्री रायमाझी मरुवाबाट लखेटिएका थिए ।

 

मन्त्री गाउँ पुगेलगत्तै स्थानीयले घरबास उठ्ने भन्दै करिडोरको टावर गाउँमा राख्न नदिने र अन्यत्र रुट परिवर्तन गर्नुपर्ने माग राखेका थिए । मन्त्री रायमाझीले सोही रुटबाट टावर गाडिने र थप विरोध भए सुरक्षाकर्मी लगाएर टावर राख्दै आएको अन्यत्रको उदाहरण दिएपछि स्थानीय आक्रोशित भएका थिए ।