close

मोरङका ११ स्थानीय तह दमकलको पहुँचबाहिरै 

जनप्रतिनिधिलाई दमकलभन्दा विलासिताका गाडी मोह

मोरङका ११ स्थानीय तह दमकलको पहुँचबाहिरै 

जनप्रतिनिधिलाई दमकलभन्दा विलासिताका गाडी मोह

Trulli
ADVERTISEMENT

मोरङ– मोरङलाई सुगम जिल्लाका रूपमा चिनिन्छ । प्रदेश राजधानी भएको जिल्लामै दैवीप्रकोप, आगलागी भए नियन्त्रण गर्ने दमकल पर्याप्त छैनन् ।

 

मोरङका १७ वटामध्ये ६ वटा स्थानीय तहमा मात्र दमकल छन् । ४ वटा नगरपालिका र ७ गाउँपालिका अझै पनि दमकलविहीन छन् । 

 

हावाहुरीको मौसम सुरु भए पनि आगलागी नियन्त्रणका लागि दमकल अभाव छ । दमकल नहँुदा जिल्लामा बर्सेनि आगलागीका दर्जनाँै घटना हुने गरेका छन् ।

 

आगलागीबाट बर्सेनि करोडौँ मूल्य बराबरको सम्पत्ति नष्ट हुने गरेको छ भने मानवीय क्षतिसमेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

 

मोरङमा चालू आर्थिक वर्षमा आगलागीबाट २ करोड ४८ लाख ३१ हजार ५ सय रुपैयाँ बराबरको क्षति र ४ जना घाइते भएका छन् । ३९ घर, ११ गोठ र ११ चौपाया जलेका छन् ।

 

मोरङ प्रहरीका अनुसार चैतमा मात्रै १५ वटा आगलागीका घटना घटेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले बताए । 

 

मोरङका विराटनगर माहनगरपालिका, सुन्दरहरैचा, बेलबारी, उर्लाबारी, लेटाङ, रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा दमकल छैन्न । रतुवामाई, सुनवर्षी पथरीशनिश्चरे नगरपालिका, कटाहरी, केराबारी ग्रामथान, जहँदा धनपालथान, बूढीगंगा, मिक्लाजुङलगायत पालिकामा अझै दमकल छैनन् ।

 

हावाहुरीको मौसममा आगलागीका घटना बढी हुने गरे पनि नियन्त्रणका लागि दमकल नहुँदा लाखौँ रुपैयाँको क्षति बेहोर्न स्थानीय बाध्य छन् । 

 

गर्मीयामसँगै हावाहुरीको मौसम सुरु भइसके पनि स्थानीय तहले यसबारे आवश्यक चासो नलिएको पथरी शनिश्चरेका धनकुमार तामाङले बताए । 


प्रत्येक नगरपालिकामा दमकल हुनैपर्ने नीति भए पनि नभएका स्थानीय तहले ध्यान दिन सकेका छैनन् । बरु विलासी गाडी खरिद गर्ने, भाडामा लिएर चढ्ने र अन्य सवारी खरिद गरेका स्थानीय तहले दमकल खरिदमा भने त्यति चासो देखाएको पाइँदैन् । 

 

निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको बजेटबाटै विलासी साधन खरिद गरी चढिरहेका छन् तर विगतदेखि नै ठूलो समस्याका रूपमा रहेको आगलागी तथा अन्य प्राकृतिक प्रकोप न्यूनीकरण गर्न भने गम्भीर भएका छैनन् । 


१ लाख बढी घरधुरी, १० लाख बढी जनसंख्या र ११ हजार ८ सय वर्गकिलोमिटर क्षेत्रफमा फैलिएको नेपालकै औद्योगिक र जनासांख्यिक हिसाबले दोस्रो स्थानमा रहेको मोरङमा केही स्थानीय तहमा दमकल व्यवस्था नहुँदा जिल्लालाई गिज्याइरहेको छ । 

 

सबै नगरपालिका तथा गाउँपालिकाले आगलागी नियन्त्रणका उपकरण खरिद, अग्निनियन्त्रण योजना, आपतकालीन सन्देश प्रवाह पद्धतिबारे नयाँ योजना ल्याउन आवश्यक रहे पनि यसतर्फ भने खासै ध्यान पुर्‍याउन सकेका छैनन् ।