close

दार्चुलाका ३ स्थानीय तहमा निषेधाज्ञा

५ स्वास्थ्यकर्मीसहित १७ जनामा संक्रमण

दार्चुलाका ३ स्थानीय तहमा निषेधाज्ञा

५ स्वास्थ्यकर्मीसहित १७ जनामा संक्रमण

Trulli
ADVERTISEMENT

दार्चुला- कोरोना संक्रमित भेटिएपछि दार्चुलाका ३ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बेलुकीदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय दार्चुलाले मार्मा गाउँपालिका, व्यास गाउँपालिका र शैल्यशिखर नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

 

मार्माका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि १ साताका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा अवधिभर गाउँपलिकाभित्र अत्यावश्यकबाहेक अन्य सेवा सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

 

यस्तै, व्यास गाउँपालिका वडा नम्बर ६ को पन्तोली टोलमा कोरोना संक्रमित भेटिएपछि उक्त वडाभित्र निषेधाज्ञा जारी गरिएको छ । वडा नम्बर ६ को पूर्वमा दाम्दाकोट, पश्चिममा महाकाली नदी बडुगाउँ, उत्तरमा रिठिङगाड र दक्षिणमा तुसराडीसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

 

शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ नायलमा ४ जनामा र वडा नम्बर ६ ग्वानीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ ।

 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ साताका लागि ३ वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । निषेधाज्ञाको उल्लंघन गरेको पाइए संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने प्रशासनले बताएको छ ।

 

दार्चुलामा ५ स्वास्थ्यकर्मीसहित १७ जनामा संक्रमण

 

दार्चुलामा ५ स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल र विभिन्न स्थानीय तहमा गरिएका परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । 

 

दार्चुलाको मार्मा गाउँपालिकामा २ स्वास्थ्यकर्मी र एक १ जीप चालकमा कोरोना संक्रमण पुष्टि भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकुमार रानाले जानकारी दिए ।


यस्तै, शैल्यशिखर नगरपालिकाका ३ स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर ९ नायलमा ४ र वडा नम्बर ६ ग्वानीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

 

जिल्ला अस्पताल दार्चुलामा गरिएको परीक्षणमा व्यास गाउँपालिका वडा नम्बर ६ का २ र नौगाड गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

मालिकार्जुन गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना फोकल पर्सन वीरेन्द्रराज भट्टले बताए । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि जिल्लामा ५ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र १० जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

योसँगै दार्चुलामा कोरोनाका संक्रिय संक्रमितको संख्या १७ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना संक्रमित बढ्न थालेपछि बाहिरबाट आएकालाई कम्तीमा १० दिन क्वारेन्टाइनमा राख्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।