close

डडेल्धुरामा निषेधाज्ञा 

डडेल्धुरामा निषेधाज्ञा 

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुरामा १९ वैशाखदेखि १ साताका लागि निषेधाज्ञा जारी भएको भएको छ । डडेल्धुरामा पनि कोरोना भाइरस संक्रमण दर उच्च हुँदै गएपछि नियन्त्रणको प्रयासस्वरूप जिल्ला प्रशासन कार्यालय डडेल्धुराले १ साताका लागि निषेधाज्ञा जारी गरेको हो ।

 

१९ वैशाख बिहान ६ बजेदेखि २५ वैशाख राती १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । शुक्रबार बसेको जिल्ला स्तरीय सर्वदलीय, सर्वपक्षीय बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो । 

 

निषेधाज्ञाको समय अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन् । अत्यावश्यक सवारी साधन एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधन, दुग्धजन्य पदार्थ बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी कागजातका आधारमा सञ्चालन हुनेछन् ।

 

खाद्य सामग्रीका पसल बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खोल्न पाइनेछ । ‘निषेधाज्ञामा अति आवश्यक कामबाहेक हिँडडुल गर्न पाइने छैन । निषेधाज्ञाको अवधिभर औषधी पसल, खाद्य पसल तथा सामग्रीबाहेक अन्य पसल सबै बन्द रहनेछन्,’ प्रजिअ घिमिरेले भने ।

 

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन् । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्वस्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउनेछन् ।

 

सरकारी कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आउजाउ गर्न पाउनेछन् । पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्र अनिवार्य गरिएको छ ।