close

याङ्बरकमा अत्यावश्यकबाहेकका सेवा बन्द

याङ्बरकमा अत्यावश्यकबाहेकका सेवा बन्द

Trulli
ADVERTISEMENT

पाँचथर- कोभिड-१९ का ८ जना संक्रमित फेला परेपछि पाँचथरको याङ्बरक गाउँपालिकाले १ साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । 

 

गाउँपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी कोभिड-१९ संक्रमण रोकथामका लागि पालिका तथा वडा कार्यालयबाट सम्पादन हुने अत्यावश्यकबाहेकका सबै सेवा ७ दिनका लागि बन्द गरिएको जनाएको छ ।

 

यस्तै, ८ जना संक्रमित फेला परेको याङ्करक वडा नम्बर १ को ठिंगेपुर क्षेत्रलाई चारकिल्ला बाँधी सिल गरिएको र सो क्षेत्रमा हुने आवागमनलाई कडाइका साथ रोक लगाइएको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए ।

 

गाउँपालिकाले व्यापार-व्यवसायसमेत अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ भने खाद्यान्नका पसल बिहान ६ बजेदेखि १० बजेसम्म तथा अपराह्न ४ बजेदेखि ६ बजेसम्म खुला रहनेछन् ।

 

अध्यक्ष घिमिरेका अनुसार सार्वजनिक सवारी साधनलाई बजार क्षेत्रमा रोक्न, यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको छ भने सार्वजनिक सवारीमा स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गर्न निर्देशन दिइएको छ । 

 

धार्मिक, सामाजिक, सांस्कृतिक, खेलकुदसहितका भीडभाड हुने सबै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न र संक्रमणबाट बच्न सावधानी अपनाउन पालिकाबासीमा अपिल गरेको छ ।


मंगलबार गरिएको एन्टिजेन परीक्षणमा याङबरक वडा नम्बर १ का ४ पुरुष र ४ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।