close

इलाम बजारमा १० दिने निषेधाज्ञा

इलाम बजारमा १० दिने निषेधाज्ञा

Trulli
ADVERTISEMENT

इलाम- कोरोना महामारीको संक्रमण नियन्त्रण गर्न इलाम नगरपालिकाको इलाम बजार क्षेत्रमा १० दिने निषेधाज्ञा जारी गरिएको छ । नगरपालिकामा मंगलबार एकै दिन कोरोना संक्रमित २ जना व्यक्तिको निधन भएपछि बसेको कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले २२ देखि ३१ वैशाखसम्म संक्रमण नियन्त्रण गर्न बजार क्षेत्रमा अत्यावश्यक कामबाहेक सबै मानवीय क्रियाकलाप गर्न निषेध गरेको जनाएको छ ।

 

बजार क्षेत्रमा अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी आवागमन नियन्त्रण गर्ने कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको विज्ञप्तिमा उल्लेख छ ।

 

इलाम नगरपालिकाको वडा नम्बर ७ को टुँडिखेलदेखि जिरो किलोमिटरसम्म र टुँडिखेलदेखि धोबीधारासम्मको मेची राजमार्गबाहेक सबै बजार क्षेत्रमा औषधोपचार, अत्यावश्यक खाद्यवस्तु खरिदबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउने गरी आवागमन नियन्त्रण गरिने सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

बजार क्षेत्रमा अत्यावश्यक वस्तु ढुवानीका सामान बोकेका, औषधोपचार प्रयोजनका सवारी साधनबाहेक कुनै पनि सवारी प्रवेशमा रोक लगाइएको छ । मेची राजमार्गमा भने सवारी आउजाउमा रोक लगाइएको छैन ।

 

मेची राजमार्गमा पर्ने इलाम नगरपालिका वडा नम्बर ५ को बिब्ल्याँटे बजार क्षेत्रमा लामो दूरीका सवारी साधन पार्किङ गर्न रोक लगाइएको छ । 

 

सार्वजनिक सेवा प्रवाह गर्ने निकाय वा कार्यालयले भीडभाड नहुने गरी स्वाथ्य सुरक्षाको मापदण्ड अपनाई न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्ने, अनलाइनबाट दिन सकिने सेवालाई सोहीअनुसार गर्नुपर्र्ने विज्ञप्तिमा भनिएको छ ।


मंगलबार इलाम नगरपालिका वडा नम्बर ७ का ७४ वर्षीय १ पुरुष र इलाम नगरपालिका वडा नम्बर ५ की २९ वर्षीया १ महिलाको कोभिडकै कारण मृत्यु भएको छ । २१ वैशाखमा इलाम नगरपालिकामा १३ र अन्य पालिकाका ४ गरी थप १७ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा ७३ जनामा कोरोना पुष्टि भएको प्रशासनले बताएको छ । 


४ जनाको मृत्यु, संक्रमित ७४ पुगे 

 

इलाममा दोस्रो लहरको कोरोना भाइरस संक्रमित ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिकाका २ र चुलाचुली गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

 

मंगलबार एकै दिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएका सबै इलाम नगरपालिकाका बासिन्दा भएको बताइएको छ । ११ जना महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो । इलाम नगरपालिकामा ४१ जना संक्रमित पुगेका छन् । 

 

इलामको रोङ गाउँपालिकामा १५ जना, सूर्योदयमा ४, देउमाई नगरपालिकामा २, चुलाचुलीमा ५, फाकफोकथुम गाउँपालिकामा २ र माईजोगमाई गाउँपालिका १ जना संक्रमित भएको स्वास्थ्य कार्यालयले बताएको छ ।