close

सिसीक्यामेराको निगरानीमा सुन्दरबजार

सिसीक्यामेराको निगरानीमा सुन्दरबजार

Trulli
ADVERTISEMENT

लमजुङ- लमजुङको सुन्दरबजार नगरपालिकाको बजार क्षेत्रमा सिसीक्यामेरा जडान गरिएको छ । नागरिकको सुरक्षा र अपराध नियन्त्रणका लागि नगरपालिकाले सुन्दरबजार र भोटेओडारको सहरी क्षेत्रमा सिसीक्यामेरा जडान गरेको हो ।

 

नगरपालिका प्रमुख जनकराज मिश्रले समाजमा हुने झैझगडा र अपराधको अन्त्यका लागि सिसीक्यामेरा जडान गरिएको बताए । इलाका प्रहरी कार्यालय भोटेओडारबाट निगरानी हुने गरी २० स्थानमा क्यामेरा जडान गरिएको छ । सुन्दरबजार क्षेत्रको पाउदी, फेदीकुना, क्याम्पसगेट, सिउँडीबार, भोटेओडारको धारापानी, बालुने, तल्लोबजार, बुद्धटोल, फूलबारीलगायत २० स्थानमा २० वटा सिसीक्यामेरा जडान गरिएको हो ।

 

नगरपालिकाको चालू आर्थिक वर्ष २०७७/७८ मा विनियोजित २० लाख रुपैयाँबाट सिसीक्यामेरा जडान गरिएको नगरपालिका प्रमुख मिश्रले बताए । बजारका चोकचोकमा सिसीक्यामेरा जडानपछि हरेक क्रियाकलाप क्यामेरामा कैद हुने उनले जानकारी दिए । अपराध नियन्त्रण तथा न्यूनीकरणमा सघाउ पुर्‍याउन सिसीक्यामेरा जडान गरेको उनको भनाइ छ । 


बजारमा मानिसको धेरै भीडभाड, हुलमुल र विभिन्न आपराधिक क्रियाकलाप हुन सक्ने अवस्थालाई दृष्टिगत गरी नगरपालिकाले सिसीक्यामेरा जडान गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले समाजमा पछिल्लो समय विभिन्न विकृति फैलिएकाले यसको नियन्त्रणमा सघाउ पुर्‍याउन नगरपालिकाले सिसीक्यामेरा जडान गरेको बताए । 


प्रहरीलाई आपराधिक घटना अनुसन्धान गर्न सहज हुनेछ । सिसी क्यामेरा अन्य क्षेत्रमा पनि सञ्चालन गर्ने र व्यवस्थित गर्दै जाने नगरपालिकाको योजना छ । प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले नगरपालिकाले सिसीक्यामेरा जडान गरेर प्रहरीलाई काम गर्न सहज बनाइदिएको बताए । जडान मात्र नभएर समय-समयमा मर्मत-सम्भारको जिम्मा नगरपालिकाले लिनुपर्ने उनको भनाइ छ ।


सिसीक्यामेरा उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डे, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, उपप्रमुख धनमाया तामाङ, नगरपालिका उपप्रमुख ज्ञानु शाह, वडा नम्बर ६ का वडाध्यक्ष रघुनाथ मिश्र, ८ का कृष्णकान्त अधिकारी, ९ का मोतीप्रसाद गुरुङ, सुन्दरबजार नगरपालिकाका प्रेस सल्लाहकार कृष्णप्रसाद अधिकारीलगायत उपस्थित थिए ।