close

चिया विकास निमगलाई कर बुझाउन ताकेता गर्दै इलामका स्थानीय तह

चिया विकास निमगलाई कर बुझाउन ताकेता गर्दै इलामका स्थानीय तह

Trulli
ADVERTISEMENT

इलाम- इलामका ७ वटा चिया बगान क्षेत्रका स्थानीय सरकारले नेपाल चिया विकास निमगका मालिक सुवास संघाईलाई साउनभित्र बुझाउनुपर्ने बक्यौता तिर्न ताकेता गरेका छन् ।  सूर्योदय नगरपालिकाको समन्वयमा सोमबार नगरपालिकामा भएको स्थानीय तहका प्रमुखको बैठकले साउनभित्र कर बुझाउन निर्देशन दिने निर्णय गरेको हो । इलाम र झापाका चिया बगान लिजमा लिने त्रिवेणी समूहका सुवास संघाईले लामो समयदेखि स्थानीय सरकारलाई भूमि र व्यवसायसम्बन्धी कर बुझाएका छैनन् ।


सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, माई नगरपालिका प्रमुख दीपक थेबे, बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल र बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको उपस्थितिमा साउन मसान्तसम्म सम्पूर्ण कर बुझाउन सात वटै बगान रहेका स्थानीय तहले एकै पटक पत्राचार गर्ने भएका हुन् । इलाम नगरपालिका प्रमुख महेश बस्नेत भने बैठकमा उपस्थित थिएनन् ।


बैंठकले १४ असार २०५० मा तत्कालीन सरकारले त्रिवेणी समूहलाई लिजमा दिएको बगान राज्यको पुनर्संरचना हुँदा समयसापेक्ष नभएकाले सम्झौता भंग गरी स्थानीय तहलाई नै सञ्चालनको जिम्मा दिन संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको सूर्योदय नगरपालिका प्रमुख राईले जानकारी दिए ।


पूर्वी पहाड इलाम तथा तराईको झापाका नेपाल चिया विकास निगमअन्तर्गतका सात वटा बगान त्रिवेणी समूहका संघाईलाई ५० वर्षका लागि लिजमा दिइएको छ । समूहले २६ करोड रुपैयाँमा ५० वर्षका लागि बगान लिजमा लिएको हो । 

 

त्रिवेणी समूहसँग वार्षिक १ करोड ५८ लाख रुपैयाँ रकम लिने सम्झौता भएको थियो । तर, सम्झौताअनुसारको रकम समूहले तिर्न नसक्ने बताएपछि वार्षिक १ करोड १५ लाख रुपैयाँ लिने–दिने सम्झौतामा उल्लेख छ । 
संघाईले सम्झौताअनुसारको रकमसमेत बुझाउन बाँकी रहेको छ । इलामका इलाम, कन्याम, सोक्तिम, चिलिमकोट र झापाका बर्ने, बारदशी तथा टोकला चिया बगान त्रिवेणी समूहको संघाईले लिजमा लिएका छन् ।

 

निगमले सुन्दैन श्रमिकको समस्या

सरकारले निगमलाई लिजमा दिएपछि श्रमिकको समस्या झन् बढ्दै गएको छ । चिया बगान त्रिवेणी समूहले लिजमा लिएपछि स्थानीय चिया श्रमिकको समस्या झनै बढेको मजदुर बताउँछन् ।


तत्कालीन समय २ हजार बढी स्थायी श्रमिकले रोजगार पाइरहेको बगानमा अहिले ६ सय हाराहारी मात्र छन् । उनीहरूको पनि कति बेला आफ्नो जागिर खोसिने हो थाहा छैन । सानो गल्ती गर्‍यो, श्रमिकको अधिकारको कुरा ग¥यो भने हातमुख जोर्ने पेसा खुस्किन बेर नलाग्ने नाम उल्लेख नगर्ने सर्तमा चिलिमकोटका एक श्रमिकले बताए ।


श्रमिकका पाउनुपर्ने तोकिएको ज्याला, सामाजिक सुरक्षा, स्वास्थ्यलगायत समस्या बेलाबेला उठे पनि आफूहरूको पीडाको विषयमा निगम गम्भीर नभएको मजदुरको गुनासो छ ।