close

नवलपुरका ७ दलले मुख्यमन्त्रीलाई बुझाए साझा अवधारणा–पत्र   

नवलपुरका ७ दलले मुख्यमन्त्रीलाई बुझाए साझा अवधारणा–पत्र   

Trulli
ADVERTISEMENT

नवलपुर– पूर्वी नवलपरासीका ७ दलले तयार पारेको नवलपुर क्षेत्रको विकासको साझा अवधारणा शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई बुझाएका छन् ।

 

हालको सत्तारुढ र सत्ताबाहिरका दलले नवलपुरको समग्र विकासको अवधारणा तयार पारेर उक्त सोहीअनुसारको काम गर्न माग गर्दै मुख्यमन्त्री नेपालीलाई उक्त माग बुझाएका हुन् ।

 

गठबन्धनको साझा अवधारणासम्बन्धी मागपत्र बुझ्दै मुख्यमन्त्री नेपालीले नवलपुरको विकासका लागि दलहरूले तयार पारेको साझा अवधारणाअनुसार काम गर्ने तयार रहेको बताए । उनले भने, ‘केही संघीय सरकारले गर्नुपर्ने निर्णय पनि छन् । त्यसका लागि पहल गर्नेछु । आफ्नो ठाउँबाट गर्न सक्ने सबै काम गर्नेछु ।’

 

कांग्रेस, नेकपा माओवादी केन्द्र, मााधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, विवेकशील साझा पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त रूपमा अवधारणापत्र बनाएका हुन् ।

 

संयुक्त अवधारणा गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीलाई नेकपा माओवादी केन्द्र नवलपुरका सचिव मित्रशरण शर्माले हस्तान्तरण गरेका थिए ।

 

७ दलले नमुना सदरमुकामको डिपिआरको अध्ययन र सम्बन्धित निकायमा काम अघि बढाउन पहल गर्ने, जिल्लास्तरीय खेलकुद रंगशाला निर्माणका लागि माग गर्नेदेखि एयरपोर्ट निर्माणलगायतका १३ बुँदे अवधारणापत्रमा माग समेटिएका छन् ।

 

नारायणी तटबन्धन, सडक निर्माण, वन्यजन्तुबाट समुदायमा हुने क्षति रोक्नका लागि तारबार र वाल निर्माण, पिस पार्कको समग्र प्रोजेक्टका लागि माग गर्ने, मौलाकालिकादेखि धौवादी हुँदै पाल्पा मित्याल जोड्ने पर्यटकीय पैदल मार्ग निर्माणको माग गरिएको छ ।

 

त्यसैगरी चुरे महाभारतबाट उत्पत्ति भई नारायणी नदीमा जोडिने ठाडा खोलाहरूको तटबन्ध गर्न माग गर्ने, ती खोलामा प्राप्त हुने नदीजन्य स्रोत व्यवस्थापन गर्न सम्बन्धित निकायसँग छलफल र ध्यानाकर्षण गर्ने, कृषि क्षेत्रसँग सम्बन्धित कृषि उद्योगको माग गर्ने, पूर्व–पश्चिम राजमार्गको मध्यबिन्दुमा पार्क निर्माण, त्रिवेणी दुम्किबास झ्यालबास हुँदै पोखरा र उत्तरी नाका कोरला जोड्ने प्रदेश स्तरीय मार्गलाई छिटो सञ्चालनमा ल्याउन माग गर्ने साझा अवधारणा बनाएका छन् ।

 

त्यसैगरी भृकुटी कागज कारखाना र धौवादी फलाम खानी उद्योग सञ्चालनका लागि ध्यानाकर्षण गराउने, जिल्लामा प्राविधिक विश्वविद्यालय निर्माणका लागि माग गर्नेलगायत विषय समेटिएका छन् ।

 

त्यसैगरी शनिबार नै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई देवचुली उद्योग वाणिज्य संघले सम्मान गरेको थियो भने नेल्टा नवलपुरले आयोजना गरेको कार्यक्रममा पनि उनी सहभागी भएका थिए ।

 

मुख्यमन्त्री नेपालीसँगै कांग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक ओमकला गौतम पनि कार्यक्रममा सहभागी थिए । मुख्यमन्त्री नेपालीले शनिबार कावासोतीमा रहेको केरुङे खोलाले पुर्याएको क्षतिको अनुगमन र कावासोती वडा नम्बर ६ को वडा कार्यालय निर्माण स्थलको निरीक्षण गरे ।