close

पोखरालाई चिनियाँ सहरको सहयोग

पोखरालाई चिनियाँ सहरको सहयोग

Trulli
ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिकाले विभिन्न देशका १३ वटा सहरसँग भगिनी र मितेरी सम्बन्ध गाँसेको छ । तीमध्ये ९ वटा चीनकै सहर छन् । अधिकांश सहर साइनो गाँसेर सम्पर्कमै नआउने प्रचलन छ । तर, पोखराले सम्बन्ध गाँसेका सहरसँग भने त्यस्तो समस्या छैन ।  कोभिड–१९ को सुरुमै पोखराले विभिन्न सहरलाई १ लाख गोटा मास्क पठाएको थियो । त्यसको बदलामा त्यहाँका सहरले पोखरालाई लाखौँको सहयोग पठाइरहेका छन् ।


भर्खरै चीनको नानिङ सहरले २० लाख रुपैयाँ बराबरको सहयोग पठाएको हो । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको समन्वयमा सामग्री ल्याइएको हो । प्राप्त सामग्री परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मन्जुदेवी गुरुङलाई हस्तान्तरण गरे । 


२६ पुस २०७४ मा पोखरा महानगर र नानिङ सहरबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । प्राप्त सामग्रीले कोभिड नियन्त्रणमा ठूलो सहयोग पुग्ने गुरुङले बताईन् । ‘भगिनी सम्बन्ध गाँसेका सहरले यसरी सहयोग पठाउँदा खुसी लागेको छ । जसलाई गाह्रो पर्छ, उसैलाई सहयोग गर्ने परम्परा हाम्रो छ,’ उनले भनिन्, ‘हिजो चीनलाई गाह्रो पर्दा हामीले सहयोग गर्‍यौँ । अहिले हामीलाई समस्या भयो । उताबाट सहयोग पाएका छौँ ।’


गुरुङले नानिङका मेयरलाई धन्यवाद पत्र पनि पठाएकी छिन् । उनले कोरोना सहज भएपछि पोखरा भ्रमणको निम्तो दिएकी छन् । परिषद् अध्यक्ष भट्टराईले नानिङ चीनको नमुना सहर भएकाले त्यहाँबाट धेरै कुरा सिक्न सकिने बताए । ५ वटा अक्सिजन कन्सन्टेटर, २० हजार थान मेडिकल मास्क, ५ सय थान पिपिई, ५ हजार थान पन्जा दिइएको हो ।