close

इलाममा निषेधाज्ञाको १०१ दिन: संक्रमणबाट १०१ कै निधन

इलाममा निषेधाज्ञाको १०१ दिन: संक्रमणबाट १०१ कै निधन

Trulli
ADVERTISEMENT

इलाम- इलाममा कोरोना संक्रमणका कारण प्रतिदिन एक जनाले ज्यान गुमाइरहेको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सरदर हरेक दिन एक जनाको निधन भइरहेकोे देखाएको हो ।

 

चेन ब्रेक गर्न गरिएको निषेधाज्ञाको १०१ दिन पुग्दा संक्रमणबाट निधन हुनेको संख्या पनि १०१ नै पुगेको तथ्यांक छ । संक्रमण र निधन हुने दरलाई हेर्ने हो भने जोखिम नियन्त्रण बाहिर गएको अनुमान गर्न सकिन्छ । कोरोना संक्रमणको तीव्र भएपछि गत २८ वैशाखदेखि जिल्लामा निषेधाज्ञा घोषणा भएको थियो । 

 

६ वैशाखमा दोस्रो लहरको पहिलो संक्रमित भेटिएको जिल्लाको इलाम नगरपालिकाभित्र भने संक्रमण तीव्र रूपमा फैलिएपछि २२ वैशाखमा निषेधाज्ञा घोषणा गरिएको थियो । निषेधाज्ञाको १०१औँ दिन बिहीबार कोरोना संक्रमणबाट ४ जनाको निधन भएको जिल्ला प्रशासन कार्यालयले निकालेको तथ्यांकमा उल्लेख छ ।

 

इलाम नगरपालिकामा सबैभन्दा धेरै २९ जनाको निधन भएको छ । सूर्योदय नगरपालिकामा २७, चुलाचुली गाउँपालिकामा १७ जनाको कोरोना संक्रमणबाट निधन भएको तथ्यांक छ । माई नगरपालिका र रोङ, माङ्सेबुङ गाउँपालिकामा ६÷६ जना र माईजोगमाई गाउँपालिकामा ५ जनाको ज्यान गएको छ । 


यस्तै, देउमाई नगरपालिकामा ४ र सन्दकपुर गाउँपालिकामा एक जनाको निधन भएको छ । बिहीबार इलाममा ४७ जना संक्रमित थपिएका छन् । योसँगै अहिलेसम्म ४ हजार ७ सय २ जनामा संक्रमण देखिएको छ ।

 

संक्रमितमध्ये ३ हजार ६ सय ८ जना संक्रमण मुक्त भएको तथ्यांक छ । ९ सय ७४ जना होम आइसोलेसनमा छन् । आइसियुमा १० जना र ९ जनाको सामान्य उपचार भइरहेको छ ।

 

जिल्लामा अहिलेसम्म १६ हजार ९ सय ९१ जनाले कोरोना परीक्षण गरेका छन् । उनीहरूमध्ये १५ हजार ९९ को एन्टिजेन र ८ सय ९२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।

 

निषेधाज्ञा बीचमा पनि संक्रमणको दर बढ्दै

महामारीको चेन ब्रक गर्न निषेधाज्ञा गरिए पनि जिल्लामा संक्रमणको दर घटेको छैन । संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नियन्त्रण प्रभावकारी हुन नसक्दा संक्रमितसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । नागरिक जिम्मेवार नहुँदा संक्रमण बढ्दै गएको हो ।

 

सरकारी सुरक्षा संयन्त्रबाहेक महामारी नियन्त्रणमा अन्य निकाय खासै लागेको देखिँदैन । सर्वसाधारण नागरिक अझै नियन्त्रण र सुरक्षाको विषयमा गम्भीर नभएको प्रतिक्रिया सामाजिक सञ्जालमा लेख्न थालेका छन् ।

 

समस्यालाई सरकारले उचित सम्बोधन नगर्दा महामारीसँगै आफ्ना व्यवसायिक गतिविधि गर्न बाध्य हुनुपरेको उद्योग, व्यवसायी बताउँछन् । निजी तथा सार्वजनिक सवारीका साधन स्वास्थ्य सुरक्षाबिना सञ्चालनमा छन् । खुला रूपमा नदेखिए पनि बजारका भित्री भागमा भीडभाड उस्तै भएको स्थानीय बताउँछन् । महामारी नियन्त्रणको एउटै विकल्प निषेधाज्ञा प्रभावकारी भएको देखिँदैन । 

 

माई नगरपालिकामा थप साता दिन निषेधाज्ञा

कोरोना जोखिम बढ्दै गएपछि माई नगरपालिकाले शुक्रबारदेखि निषेधाज्ञा गरिने घोषणा गरेको छ । विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले एक साता पूर्ण निषेधाज्ञा गर्ने निर्णय हो । निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई संक्रमण रोग ऐन, २०२१ बमोजिम १ लाख ५० हजार रुपैयाँसम्म जरिमाना गरिने नगरपालिकाले जनाएको छ ।

 

नगपालिकामा कोभिडको संक्रमण जोखिम बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुरूप १० भदौ २०७८ सम्म सर्तसहित निषेधाज्ञा गरिने नगरपालिकाले बताएको छ । निषेधाज्ञाको समय बिरामीलाई अस्पताल लैजानुपरे एम्बुलेन्स प्रयोग गर्नुपर्ने, एम्बुलेन्स नभए माई नगर अस्पतालको सिफारिसका आधारमा पास लिएर लैजानुपर्नेछ । 


नगरपालिका हुँदै झापा जाने सबै खाले सवारी साधन सञ्चानलमा रोक लगाइएको छ । औषधीबाहेक सबै खाले पसल बन्द रहनेछन् ।  यो समय औषधी आवश्यक भए नगर स्वास्थ्य शाखाले समन्वय गरी खरिद सहजीकरण गर्ने नगरपालिका शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए । 


१ भदौमा प्रमुख जिल्ला अधिकारीले जारी आदेशमा तरकारी, खाद्यान्न, फलफूल, दूध र मासु पसल बिहान ९ बजेसम्म खोल्ने, परीक्षार्थी र परीक्षामा खटिने कर्मचारीले परिचयपत्रका आधारमा आउजाउ गर्न सक्ने, बैंक आलोपालो १० देखि १२ बजेसम्म मात्र खुला गर्न पाइने निर्णय भएको छ ।