close

अपराधमा सहयोगी बन्दै भारतीय सवारीसाधन 

अपराधमा सहयोगी बन्दै भारतीय सवारीसाधन 

Trulli
ADVERTISEMENT

कपिलवस्तु- सीमा क्षेत्रमा हुने अपराधमा भारतीय मोटरसाइकलको प्रयोग बढदै गएपछि कपिलवस्तु प्रहरीले अभिलेख राख्न सुरु गरेको छ । अपराधमा प्रयोग निरुत्साहित गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अभिलेखीकरण सुरु गरेको हो । 


हाल सम्म ६२ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । तीमध्ये ४९ सवारीसाधनको अभिलेखीकरण गरिएको छ । १३ मोटरसाइकल कागजात नभएका कारण अनुसन्धानमा राखिएको छ । १३ मध्ये केही नेपाली मोटरसाइकल चोरी गरी भारतीय नम्बर राखेर चलाएको फेला परेको छ । 
हत्यादेखि, चोरी तस्करी, लागूऔषध कारोबारमा भारतीय मोटरसाइकल अत्यधिक प्रयोग हुन थालेपछि प्रहरीले अभिलेखीकरण सुरु गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । अभिलेखीकरण नहुँदा अपराधमा प्रयोग भएका भारतीय सवारीसाधन प्रयोगकर्ता पहिचान गर्न असहज भएपछि प्रहरीले नयाँ जुक्ति निकालेको हो । 


भारतीय सीमा आसपास र राजमार्गदेखि दक्षिणतर्फका बस्तीमा भन्सार गरेका र नगरेका भारतीय मोटरसाइकल, जिप तथा कार नेपालीले प्रयोग गर्दै आएका छन् । विवाहमा दाइजोस्वरूप र भारतमा मूल्य सस्तो पर्ने हुँदा भारतीय आफन्तको नामबाट खरिद गरेर प्रयोग गरिरहेका छन् ।  चोरी भएका नेपाली मोटरसाइकलमा भारतीय नम्बर राखेर आपराधिक क्रियाकलापमा संलग्न भएको भेटिएको छ । 


प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी कागजात भएका मोटरसाइकल नियन्त्रण लिएर अन्य मोटरसाइकलको कागजात प्रमाणीकरण गरी अभिलेखीकरण गरिएको बताउँछन् । नियमम्मत रहेका सवारीसाधनको विवरण राखेपछि प्रयोगकर्तालाई सचेत गराई हस्तान्तरण गरिएको छ ।


अभिलेखीकरण गर्दा भारतीय सवारीधनीको विवरण, नेपालमा प्रयोग गर्नेको विवरण, सम्पर्क नम्बर, वतनसहितको तथ्यांक राखिएको छ । अभिलेखीकरण भएका भारतीय सवारीसाधन अपराधमा प्रयोग भए नेपाली प्रयोगकर्ता पहिचान भई अनुसन्धानमा सहज हुने भण्डारी बताउँछन् । साउनबाट सुरु भएको अभियानमा कपिलवस्तु प्रहरीले भारतीय सवारीसाधन प्रयोग गरी अवैध हतियारसहित एक र लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।