close

बिर्तामोडको नगर विकास योजना पुस्तक सार्वजनिक

बिर्तामोडको नगर विकास योजना पुस्तक सार्वजनिक

Trulli
ADVERTISEMENT

झापा– झापाको बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८/७९ को नगर विकास योजनाको पुस्तक सार्वजनिक गरिएको छ ।


नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर विकास योजनाको समीक्षा तथा पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रदेश १ सभासद् एकराज कार्की, बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।

 

गत १० असारमा आयोजित सातौँ नगरसभामा पेस भएका नीति तथा कार्यक्रमलाई पुस्तकमार्फत सार्वजनिक गरिएको हो । प्रदेश सभासद् कार्कीले सार्वजनिक भएका योजनाको कार्यान्वयनमा ध्यान दिन जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गरे ।

 

पुस्तक सार्वजनिक कार्यक्रममा नगरपालिकाको आचरण सचेतना शिक्षा पुस्तकसमेत विमोचन गरिएको छ । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा निःशुल्क पठनपाठन गराउँदै आएको आचरण सचेतना शिक्षा पुस्तक विमोचन गरिएको हो ।

 

कक्षा ३ देखि ८ सम्मको पाठ्यक्रम तथा कक्षा ७ र ८ को पाठ्यपुस्तक विमोचन गरिएको छ । नगरपालिकाले विभिन्न वडामा जग्गा दिएर सहयोग गर्ने जग्गादाता, अवकाश प्राप्त कर्मचारी, उत्कृष्ट कर्मचारी, समाजसेवी तथा खेलाडीलाई सम्मान गरेको छ । 

 

सम्मानित हुनेमा आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता बिर्तामोड वडा नम्बर १ का दानबहादुर राउत, वडा नम्बर ४ का भीमकला राउत, वडा नम्बर ९ का तोमप्रसाद पाठक र वडा नम्बर १० का श्रीप्रसाद शिवाकोटी रहेका छन् ।

 

यस्तै, नगरपालिकाबाट अवकाश प्राप्त कर्मचारी लेखा अधिकृत यादवप्रसाद अधिकारी, अधिकृत छैटौँ तुलसीप्रसाद भण्डारी, सहायक पाँचौँ धनकुमारी भण्डारी र प्रधुम्न न्यौपानेलाई सम्मान तथा बिदाइ गरियो ।  समाजसेवी वडा नम्बर ४ का भक्तिप्रसाद तिवारी विदुर र बडी बिल्डर राम दाहाललाई पनि सम्मान गरियो ।

 

नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को उत्कृष्ट कर्मचारीको रूपमा कोभिड–१९ संक्रमण उच्च रहेका बेला निरन्तर खटिने एम्बुलेन्स चालक महेन्द्रकुमार घिमिरे र शव वाहन चालक खगेन्द्रप्रसाद मैनालीलाई समेत सम्मान गरेको छ ।