close

पञ्चेश्वरमा कर्मचारी अभाव, दुर्गममा जानै मान्दैनन् राष्ट्रसेवक

पञ्चेश्वरमा कर्मचारी अभाव, दुर्गममा जानै मान्दैनन् राष्ट्रसेवक

Trulli
ADVERTISEMENT

बैतडी–कर्मचारी दुर्गममा जान नमानेपछि बैतडीको पञ्चेश्वर गाउँपालिकामा अभाव चुलिएको छ । कर्मचारी अभावका कारण कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारी अभावका कारण आर्थिक कारोबार रोकिएकाले अहिले राहत नपाउँदा वर्षाका कारण विपद् सामना गरिरहेका घरपरिवारलाई झनै समस्या भएको छ ।

केही राहत पाउने आस गरेका बाढीपहिरोपीडित रित्तो हात फर्किएको पञ्चेश्वर वडा नम्बर ४ का अम्मरबहादुर चन्दले बताए । गाउँपालिकामा आएका सबैजसो सेवाग्राही कार्यालय पुगेर फर्किने गरेको स्थानीय अरुण चन्दले बताए । गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागले जानकारी दिए ।

 

गाउँपालिकाको वडा नम्बर १ बाहेकका सबै वडामा वडा सचिव नभएको उनले बताए । वडा सचिव नहँुदा ३ जना वडाका अस्थायी प्राविधिकले ६ वटै वडाको दोब्बर काम हेरिरहेका छन् ।  पालिकाका सबै शाखामा कर्मचारी अभाव रहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।


पालिका स्थापनादेखि नै कर्मचारी अभाव रहेको उनको भनाइ छ । गत आर्थिक वर्षमा ३ महिनाका लागि आएका लेखापालको काज फिर्ता भएपछि समस्या छ ।अहिले पालिकाका इन्जिनियरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । गत साताको वर्षाका कारण बाढीपहिरोमा पञ्चेश्वरका ५० बढी परिवारको घर भत्किएको छ भने ५ सय बढी किसानका खेतीयोग्य जमिन बाढीले बगाएको छ ।


उनीहरूलाई राहत दिने कार्यक्रम भए पनि कर्मचारी अभावका कारण दिन नसकिएको गाउँपालिका अध्यक्ष चन्दले बताए । उनले भने, ‘पालिकामा सुरुको वर्षदेखि नै कर्मचारी अभाव छ । पटक–पटक सरोकारवाला निकायलाई घचघच्याउँदा पनि समस्या समाधान भएको छैन ।’

 

बाढीपहिरोले पालिकाभित्र ५० बढी घर भत्केका छन् । सयौँ किसानका खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । उनीहरूमध्ये घरबारविहीन भएकालाई केही राहत दिन सकिने भए पनि लेखापाल नहुँदा समस्या आएको उनले बताए । कर्मचारी पदपूर्तिका लागि निरन्तर प्रयासरत रहेको उनले दाबी गरे । पञ्चेश्वर भारतसँग सीमा जोडिएको जिल्लाकै दुर्गम भएकाले कहिले पनि कर्मचारी नआउने गरेको अध्यक्ष चन्दले जानकारी दिए । 


गाउँपालिकामा दरबन्दीका ३१ कर्मचारी हुनुपर्नेमा हाल ११ जना मात्रै छन् । अहिले प्रशासन छैटौँमा २ जना छैनन् भने प्रशासन पाँचौँमा ५ जना र सहायक चौथोमा ४ जना कर्मचारी छैनन् । यसैगरी लेखा अधिकृत छैटौँ एक जना, लेखा सहायक १ जना, अलेप पाँचौँ १ जना, शिक्षा अधिकृत १ जना, सहायक मलेप निरीक्षक १ जना, सब–इन्जिनियर पाँचौँ २ जना, असिस्टेन्ट २ जना नभएको गाउँपालिकाले जनाएको छ ।पालिकाका ६ वटै वडामा कर्मचारी अभाव छ ।