close

सय नाघेका वृद्ध बाआमालाई बिर्तामोडको सम्मान

सय नाघेका वृद्ध बाआमालाई बिर्तामोडको सम्मान

Trulli
ADVERTISEMENT

झापा– झापाको बिर्तामोड नगरपालिकाले १०० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर सम्मान गरेको छ । मंगलबार नगरप्रमुख धु्रवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसार्इं, महिला विकास निरीक्षक पुष्पा कार्की, सहायक महिला विकास निरीक्षक युगकुमारी भट्टराईलगायतको टोलीले नगरका विभिन्न वडामा पुगेर पोषिला खानेकुरा र नगदसहित न्याना कपडा वितरण गरिएको हो ।

 

सम्मानित हुनेमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का एक दम्पती १०४ वर्षीय मोतीलाल बाँस्तोला, १०२ वर्षीया विष्णुमाया बाँस्तोला, वडा नम्बर २ चैतुबारीकी १०६ वर्षीया कौशिला खरेल, वडा नम्बर ३ देउनियाका १०० वर्षीय पुण्यप्रसाद तिम्सिना, वडा नम्बर ६ बरगाछीका १०६ वर्षीय भीमलाल बराल रहेका छन् ।


यस्तै, वडा नम्बर ८ की १०० वर्षीया तिलमाया मगर र वडा नम्बर ९ का १०१ वर्षीय रत्नबहादुर थापा रहेका छन् । नगरप्रमुख शिवाकोटीले ज्येष्ठ नागरिकलाई सम्मान गरेर आशीर्वाद लिइएको बताए । आमाबाबु भगवान् भएकाले सबैले वृद्धवृद्धालाई माया र सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

 

नगरप्रमुख शिवाकोटीले यसअघि १५ असोजमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका दिन पनि नगरपालिकाले १०० वर्षमुनिका जेष्ठ नागरिकलाई सम्मान गरेको जानकारी दिए । यस्तै, उपप्रमुख पवित्रा महतारा प्रसाईले १०० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नगर कार्यालय पुग्न झन्झट हुने भएकाले घरघरमै पुगेर सम्मान गरिएको बताइन् । घरपरिवारमा समेत वृद्धवृद्धालाई सम्मान गर्नुपर्छ भन्ने उदाहरण दिन यो कार्यक्रम सञ्चालन गरिएको उनको धारणा छ ।

 

नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को महिला, बालबालिका, अपांगता तथा ज्येष्ठ नागरिक शीर्षकमा रहेको नियमित कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक सम्मान गरेको हो । नगरपालिकाले यसअघि परोपकार वृद्धाश्रममा रहेका ३४ वृद्धावृद्धालाई पोषिला खानेकुरा वितरण गरेको थियो ।