close

१ वर्ष लगाएर कालोपत्रे गरेको सडक ६ महिनामै उप्कियो

१ वर्ष लगाएर कालोपत्रे गरेको सडक ६ महिनामै उप्कियो

Trulli
ADVERTISEMENT

बैतडी–बैतडी जिल्ला सदरमुकामस्थित गढीदेखि गोठलापानीसम्म कालोपत्रे गरिएको सडक ठाउँ–ठाउँमा भत्किएपछि पुनः कालोपत्रे गर्न थालिएको छ । ४ करोड ३१ लाख रुपयाँ सम्झौतामा के एस कन्स्ट्रक्सन धनगढीले कालोपत्रे गरेको सडकको पिच उप्किएपछि पुनः कालोपत्रे गर्न लागिएको हो । 


कालोपत्रेको काम सकिन लागेको र सडक बत्ती राख्ने तथा पेन्टिङ गर्ने काम बाँकी रहेको ठेकेदार पदम गाउँलेले बताए । उनले भने, ‘हामीले काम तीव्र गतिमा अगाडि बढाएका छौँ । अबको १ महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर सहरी विकास कार्यालय र दशरथचन्द नगरपालिकालाई बुझाउन आतुर छौँ ।’


यसअघि निर्माण गर्दा मौसम प्रतिकूलताले समस्या भएको उनको दाबी छ । सडकमा सोलार बत्ती र पेन्टिङलगायतको केही काम बाँकी थियो । अहिले सबै सम्पन्न गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने अन्तिम तयारीमा रहेको उनले बताए ।


गढी–गोठलापानी सडकमा गुणस्तरहीन काम गरेको भन्दै नागरिक र सञ्चार माध्यमबाट विरोध भएपछि ठेकेदारको भुक्तानी रोकिएको थियो । तर, बिग्रिएको सडक ठेकेदारले पुनः बनाउन लागेपछि अहिले विरोध साम्य हुँदै गएको छ । 


गढी–गोठलापानीको करिब २ किलोमिटर सडक यसअघि पटक–पटक निर्माण गरिए पनि गुणस्तरहीन सामग्री प्रयोगका कारण बिग्रिएपछि यसपालि बलियो गरी बनाउन ठेकेदारलाई दबाब दिनुपर्ने अधिकारकर्मी राजुराम भुल बताउँछन् ।


ठेकेदारले उक्त सडक १ वर्ष लगाएर बनाए पनि ६ महिनामै भत्किने गरेकाले अहिले पनि गुणस्तर हुनेमा आशंका रहेको नागरिक समाजका अगुवा धनिराम लोहारको भनाइ छ । उनले भने, ‘यो सडक प्रयोग गरेर सुविधाभन्दा पनि आफ्ना मान्छेलाई रोजगारी दिन वा आफू निकटका ठेकेदारलाई ठेक्का पारेर कमिसन खान योजना हालेजस्तो लाग्छ ।’


गोठलापानीका स्थानीय व्यापारी खिमानन्द भट्टले गढी–गोठलापानी सडकबाट जिल्लाका २ दर्जन बढी सरकारी कार्यालयका हाकिम तथा कर्मचारी, सबै राजनीतिक दलका नेता दैनिक ओहोरदोहोर गरे पनि गुणस्तरबारे बेखर रहेको बताए । ‘सडकको हालत दयनीय हुँदासम्म कसैलाई मतलब थिएन । यसपालि मात्रै ठेकेदारको भुक्तानी रोकिएकाले पुनः निर्माण सुरु गरिएको छ । काम राम्रो होस् ।’


उक्त सडक भएर जिल्ला प्रशासन प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, प्रहरी, सेना, दशरथचन्द नगरपालिका, सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, मालपोत, नापीदेखि जिल्लाका सबै मुख्य कार्यालय जाने मुख्य बाटो भए पनि निर्माण कम्पनीले गुणस्तरीय रूपमा काम नगर्दा सधैँ बिग्रने गरेको छ,’ उनले भने ।


गढी–गोठलापानीको मुख्य सडक निर्माणको काम कमसल ढंगले भएको देखिएसँगै सरोकारवाला निकायलाई दबाब दिएपछि मात्र पुनः काम सञ्चालन गरिएको प्रदेश सांसद लीलाधर भट्टले जानकारी दिए । सडक निर्माण अलपत्र छाडेको ठेकेदार कम्पनी र निर्माण जिम्मा दिने कार्यालयलाई पुनः काम सञ्चालन गर्न बाध्य गराएपछि बल्ल अगाडि बढेको उनको दाबी छ ।