close

महाकाली राजमार्ग : ठाउँ–ठाउँमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम

महाकाली राजमार्ग : ठाउँ–ठाउँमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीका विभिन्न ठाउँमा कालोपत्रे सडक बिग्रिँदा दुर्घटनाको जोखिम बढेको छ । महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाज–गोकुलेश्वर सडक खण्डको ठाउँ–ठाउँमा कालोपत्रे उप्किएपछि दुर्घटनाको जोखिम बढेको दोगडाकेदार वडा नम्बर ६ का रुपेश कार्कीले बताए ।

 

उनले भने, ‘केही ठाउँमा बाढीपहिरोका कारण र केही ठाउँबाट ग्रामीण क्षेत्रका लागि शाखा कच्ची सडक खनिएको हुँदा कालोपत्रे भत्किएको छ । कतिपय ठाउँमा कालोपत्रे गर्ने बेला कमसल सामग्री प्रयोग गरिएकाले सडक बिग्रिएको हो ।’ 

 

महाकाली राजमार्गमा सतबाजदेखि गोकुलेश्वरसम्म करिब २५ प्रतिशत सडक बिग्रिइसकेको डिलासैनी वडा नम्बर ६ गोकुलेश्वरका व्यवसायी सुरेश श्रेष्ठले बताए । उनले भने, ‘गोकुलेश्वर पुल ठोक्करदेखि बरम बजारसम्म करिब ५ सय मिटर सडक पूरै बिग्रिएको छ । सडक मर्मत गर्न कसैको ध्यान गएको छैन । जिल्लाका अन्य ठाउँमा कालोपत्रे टाल्ने काम भए पनि गोकुलेश्वर क्षेत्रमा काम भएको छैन ।’


सडक विभागका प्रतिनिधिदेखि स्थानीय सरकारसम्मलाई पटक–पटक जानकारी गराइए पनि हालसम्म सुुनुवाइ नभएको उनले दाबी गरे । श्रेष्ठले भने, ‘सबै तहका मान्छे यही बाटो भएर दार्चुला सदरमुकाम जान्छन् । तर, सडक बनाउन ध्यान गएको छैन । केही दिनअघि संघीय सरकारका मन्त्री दिलेन्द्रप्रसाद बडुको गाडी बिग्रिएको सडकमै रोकिँदा हिँडेरै जानुभयो । तर, मर्मतमा ध्यान दिइएन ।’

 

दुर्घटनाको जोखिम बढाउने हुँदा सडक निर्माण गरिदिन माग गरे पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ । विभिन्न ठाउँमा उप्किएको कालोपत्रे, भत्किएका नाली तथा ह्युम पाइप व्यवस्थापनमा कसैले ध्यान नदिएको यातायात व्यवसायी हरिश नाथले बताए ।

 

सडक किनारमा स्थानीयले बालुवा र गिटी थुपारेका कारणसमेत दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ । सडक साँघुरो भएकाले गाडीलाई साइड दिने समस्या हुने गरेको छ । 


महाकाली राजमार्गअन्तर्गतको सतबाज–गोकुलेश्वर सडक खण्डका विभिन्न ठाउँ बिगिएकाले छिट्टै मर्मत गरिने सडक डिभिजन कार्यालय पाटनले जनाएको छ । खाल्डाखुल्डीमा पुनः कालोपत्रे गर्न ठेक्का सम्झौता भइसकेकाले केही दिनभित्र काम सुरु हुने डिभिजन कार्यालयका रमेश चौधरीले बताए ।