close

स्वरोजगार बन्दै बर्दिबासका सुकुम्बासी

स्वरोजगार बन्दै बर्दिबासका सुकुम्बासी

Trulli
ADVERTISEMENT

महोत्तरी– बर्दिबास नगरपालिका वडा नम्बर ७ पशुपतिनगरका हेमबहादुर खपांगीसँग उत्पादनका लागि आफ्नै जग्गा नहँुदा जीविकोपार्जन धौ–धौ बनिरहेको थियो । वर्षांैदेखि गाउँ ब्लक जग्गामा बस्दै आएका खपांगीसँग आफ्नो नाममा सानो झुपडीबाहेक केही छैन । 

 

नेपालकै नागरिक भए पनि अनागरिक जसरी बस्नुपर्दा खपांगीलाइ बेला–बेला दुःख लागेर आउँथ्यो । तर, राज्यले आफ्नो दायित्व पूरा गर्न नसके पनि अहिले खपांगीजस्तै १५ घरपरिवारलाई सामुदायिक परिवार कल्याण संघ नामक गैरसरकारी संस्थाले स्वरोजगार बनाएर आफ्नै खुट्टामा उभिन सक्ने बनाएको छ ।


संस्थाले जमिनदारसँग झन्डै ३३ कट्ठा जग्गा भाडामा लिएर १५ सुकुम्बासी घरपरिवारका लागि स्वरोजगार र आत्मनिर्भर बनाएपछि अहिले जुरेटोलस्थित सुकुम्बासीमा खुसी थामिनसक्नुको छ ।

 

जीविकोपार्जनका लागी बनिबँुतो गर्न टाढा–टाढा जानुपर्ने सुकुम्बासी परिवार अहिले बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त हुन्छन् । उनीहरूले आयआर्जन वृद्धि गर्न विभिन्न व्यावसायिक खेती गरेका छन् ।

 

‘हामीसँग जमिन थिएन । गरिखान मजदुरी गर्नैपर्ने बाध्यता थियो । तर, अहिले संस्थाले दिएको यो खेतबाट भरिपूर्ण छ’, खपांगी भन्छन् । सुकुम्बासी बस्तीमा अलि टाठाबाठा खपांगी नै हुन्, त्यसैले उनैले यो समूह अर्थात् १५ घरपरिवार सुकुम्बासीको नेतृत्व गरेका छन् । 


संस्थाले सुकुम्बासी परिवारको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले जग्गा भाडामा लिएर मात्र दिएको छैन, बिउबिजन, प्राविधिक सहयोगदेखि इनार खनेर पर्याप्त सिँचाइसमेतको व्यवस्था गरेको छ ।

 

जुरेटोल मिश्रित कृषक समूह नामक यो समूहले अहिले खेतमा काउली, गोलभेडा, आलु, खुर्सानी, सिमी रोपेको छ । अघिल्लो वर्षको असारदेखि खेतीपाती गर्न सुरु गरेको यो समूहले एकपल्ट उत्पादन गरेर बजारमा बेचिइसकेको छ । संस्थाले लगानी गरेबापत सुकुम्बासीको जीविकोपार्जन सहज बनाउने उद्देश्य राखेको छ ।


‘हामीले समूहलाई लगानी गरेबापत केही पनि मुनाफाको अपेक्षा गरेका छैनौँ । उनीहरूले खेतबारीबाट जीविकोपार्जन गर्न सकून् भन्ने मात्र हो’, सामुदायिक कल्याण संघका कृषि प्राविधिक तथा फिल्ड अफिसर प्रकाश सुनुवार भन्छन् ।


खपांगीजस्तै मिश्रित कृषि समूह जुरेटोलका महिला निकै खुसी छन । खपांगीबाहेक समूहमा १४ घरपरिवारको प्रतिनिधित्व हुने गरी एक–एक जना महिला छन् ।

 

कृषिका लागि कसैसँग पनि जग्गाजमिन नभएको र भाडामा लिएर पैसा तिर्न नसक्ने अवस्था रहेका बेला संघले गुन लगाएको महिला बताउँछन् । ‘हामीलाई साह्रै गाह्रो थियो । यो जग्गा नदिएको भए यतिबेला हामी रातु नदीको किनारमा बालुवा चाल्दै हुन्थ्यौँ’, सोही महिला समूहकी माया सुस्लिङ भन्छिन् ।

 

संस्थाले यो समूहलाई नमुना समूह बनाउन विभिन्न तालिमसमेत व्यवस्था गर्दै आएको छ । पछिल्लो समय रासायनिक मल तथा कृषिजन्य औषधीका कारण सर्वसाधारणको स्वास्थ्यमा समस्या बल्झिरहेको भन्दै विज्ञले चिन्ता व्यक्त गरिरहेका छन् । त्यसैले संस्थाले यो समूहलाई अर्गानिक खेतीप्रति उत्प्रेरित गरिरहेको छ ।


माटो परीक्षणदेखि कृत्रिम कम्पोस्ट मल बनाउन महिलालाई तालिम दिइएपछि समूहले उत्पादन बढाउन रासायनिक मललाई विस्थापन गरी अर्गानिक खेतीपातीमै ध्यान दिइरहेको छ । ‘हामी सुकुम्बासीको समस्यालाई सरकारले पहिचान गर्न सकेन बरु संघले पहिचान ग¥यो । खुसी छौँ’, स्थानीय हेमबहादुर सुस्लिङ मगर भन्छन् ।

 

अहिले संस्थाले ३२ कठ्ठा जग्गाको वार्षिक १ लाख ९२ हजार अर्थात् मासिक १६ हजार रुपैयाँ तिर्दै आएको छ । खेतीपातीका लागि एउटै प्लटका जग्गा जग्गाधनीसँग ५ वर्षे सम्झौता भएपछि सुकुम्बासीको आयआर्जनको माध्यम मात्र बनेको छैन, कृषि प्राविधिक अध्ययन गरिरहेका प्राविधिक कलेजका विद्यार्थीका लागि प्रयोगशाला केन्द्र बनेको छ ।