close

सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्दै छौँ : अध्यक्ष निरौला

सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्दै छौँ : अध्यक्ष निरौला

Trulli
ADVERTISEMENT

उदयपुर– राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले मुलुकभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरी भूमि समस्याको दीर्घकालीन समाधान गर्ने गरी आयोगले काम गरिरहेको बताएका छन् ।

 

गाईघाटको जिल्ला समन्वय समितिको परिसरभित्र राष्ट्रिय भूमि आयोगको जिल्लास्थित समितिको कार्यालय स्थापना गरी जिल्ला समितिका अध्यक्षसमेतको पद बहाली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले उक्त कुरा बताएका हुन् ।  

 

अध्यक्ष निरौलाका अनुसार लामो समयदेखि पहिलाको आयोगले गरेका कतिपय राम्रा र कानुनसम्मत कामलेसमेत निरन्तरता नपाउनु र सरकार एवं आयोगका पदाधिकारी फेरिँदै जाने भएकाले सुकुम्बासी समस्या समाधान हुन नसकेको हो । यसअघिको आयोगले गरेका कामलाई निरन्तरता दिँदै सुकुम्बासी समस्या सदाका लागि अन्त्य गर्ने पहल भइरहेको उनले बताए ।

 

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्दै मुलुकभरका करिब १४ लाख परिवारका लागि जग्गा व्यवस्थापन गर्ने तथा पुराना अधुरा कामलाई निरन्तरता दिई बाँकी रहेका सबै काम गर्ने गरी आयोगले काम गरिरहेको उनको दाबी छ । 

 

आयोगको प्रारम्भिक अभिलेखअनुसार हाल मुलुकमा भूमिहीन दलित परिवारको संख्या २ लाख ३२ हजार, सुकुम्बासी परिवार ३ लाख ३७ र अव्यवस्थित बसोबासी ७ लाख ६५ हजार परिवार रहेको उनले बताए । ‘ठूलो संख्यामा रहेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित परिवारलाई कानुनी आधारमा व्यवस्थित ढंगले जग्गा उपलब्ध गराएर मुलुकबाट सदासदाका लागि यो समस्या निराकरण गर्न निकै जटिल र चुनौतीपूर्ण काम हो । सुकुम्बासी समस्या सधैँका लागि हटाउने गरी काम भइरहेको छ’, अध्यक्ष निरौलाले भने ।

 

जिल्लास्थित नापी, मालपोत, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका अधिकृत र वन डिभिजन कार्यालय पदेन सदस्य रहने यो समितिलाई अन्य सदस्यको समेत मनोनयन गरी माघ मसान्तभित्र पूर्णता दिइने अध्यक्ष निरौलाको भनाइ छ ।

 

सरकार फेरिएपिच्छे आयोग खारेज हँुदै जाने परिपाटीले यसअघि १४ वटा सुकुम्बासी समस्या समाधान आयोग गठन हुँदा पनि सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या जस्ताको तस्तै रहेको उनले बताए । अध्यक्ष निरौलाले विगतमा लालपुर्जा बनेर मालपोत कार्यालयमा थुपारिएको बोराको पोको फुकाएर केलाउन थालिएको सुनाए ।

 

कार्यक्रममा त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले आयोगको काममा जस्तोसुकै सहयोग गर्न स्थानीय तह तयार रहेकाले अब यो समस्यालाई जतिसक्दो छिटो समाधान गर्न अध्यक्ष निरौलासँग आग्रह गरे । ‘भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउने हाम्रो उद्देश्य हो । आयोगले दिनरात नभनी काम गर्नुपर्छ । त्यसका लागि आवश्यक पर्ने सम्र्पूण सहयोग गर्न नगरपालिका तत्पर छ’, चौधरीले भने ।

 

त्रियुगा नगर क्षेत्रमा ६० प्रतिशत ऐलानी जग्गा भएको जानकारी दिँदै उनले गत निर्वाचनमा सबै राजनीतिक पाटीको घोषणापत्रमै ऐलानी जग्गा नापजाँच गरेर जनतालाई जग्गाको मालिक बनाउने भनिएकाले तत्काल लालपूर्जा दिनुपर्ने धारणा राखे । राष्ट्रिय भूमि आयोगका जिल्ला समिति उदयपुरका अध्यक्ष बलबहादुर तामाङले भूमि समस्या सधैँका लागि अन्त्य गर्न पहिचान, मापदण्ड र लगतका आधारमा भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गरिने बताए । यसका लागि को सुकुम्बासी हो र को होइन भन्ने यकिन गर्न, बजार क्षेत्रको जग्गा नक्सा निर्माण तथा कित्ताकाट गर्न ड्रोन क्यामेरा, भू– उपग्रह तथा कम्प्युटर सप्mटवेयरजस्ता आधुनिक सूचना प्रविधि उपयोग हुन आवश्यक रहेको उनले औँल्याए । 

 

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले अमिनलगायत फिल्डमा खटिने प्राविधिक कर्मचारी व्यवस्थापनमा समस्या रहेकोले यसतर्फ आयोगले तत्काल पहल गर्नुपर्ने बताए । 

 


केन्द्रीय अध्यक्ष निरौलालले त्रियुगा नगरपालिका वडा नम्बर १२ को साविक हवाई फिल्ड र गौचरण क्षेत्रमा बसेका अव्यवस्थित बसाबासीको स्थलगत अवलोकन गरी त्रियुगाका जनप्रतिनिधिसँग आयोगको कामलाई अगाडि बढाउने विषयमा छलफल गरे ।