close

उदयपुरमा थपिए ५१ हजार ६ सय बढी मतदाता

उदयपुरमा थपिए ५१ हजार ६ सय बढी मतदाता

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरमा ५१ हजार ६ सय ७९ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरले गत पुसमा चलाएको एक महिने मतदाना नामावली संकलनको अभियानका क्रममा नयाँ मतदाता थपिएका हुन् ।

 

उदयपुरका ८ वटै स्थानीय तहमा कार्यालयले मतदाना नामावली संकलन अभियान चलाएको थियो । जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकामा अभियान चलाएको निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी उत्तम भट्टराईले
बताए । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उदयपुरमा थपिएका ५१ हजार ६ सय ७९ जनाले मतदान गर्न पाउनेछन् ।

 

उदयपुरका ८ स्थानीय तहमा पुरुष मतदाता संख्या १ लाख १५ हजार ९ सय ५१ र महिला संख्या १ लाख ६ हजार २ सय १९ जना गरी २ लाख २७ हजार १ सय ७० पुगेको छ । ०७४ को निर्वाचनमा १ लाख ७५ हजार ४ सय ९१ मतदाता थिए । 

 

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका गाईघाटमा सबैभन्दा बढी मतदाता थपिएको निर्वाचन कार्यालय उदयपुरका प्रमुख हिमालय बरालले जानकारी दिए । त्रियुगा नगरपालिकामा १३ हजार ६२ मतदाता नयाँ थपिँदा कुल संख्या ६० हजार ६ सय ५७ पुगेको छ । यीमध्ये २ जना तेस्रो लिंगी रहेका छन् ।

 

त्यसैगरी दोस्रोमा चौदण्डीगढी नगरपालिका परेको छ । चौदण्डीगढीमा ९ हजार ९३ नयाँ मतदाता थपिएर ३९ हजार ३ सय ४१ मतदाता पुगेका छन् । तेस्रोमा कटारी नगरपालिका परेको छ । कटारीमा ९ हजार १ सय ५६ मतदाता थपिएपछि ३९ हजार २ सय ४६ मतदाता पुगेका छन् ।

 

चौदण्डीगढीमा पुरुषभन्दा महिला मतदाता संख्या बढी रहेको छ । पुरुष १९ हजार ४ सय ५० र महिला १९ हजार ८ सय ८१ रहेका छन् । बेलका नगरपालिकामा ८ हजार ८ सय ८२ नयाँ थपिँदा मतदाता संख्या ३३ हजार ४ सय ७७ पुगेको छ । 

 

पालिकातर्फ सबैभन्दा बढी उदयपुरगढी गाउँपालिकामा मतदाता थपिएका छन् । यो पालिकामा ४ हजार ६ सय ११ नयाँ थपिएर २० हजार ४ सय ४२ मतदाता पुगेका छन् । रौतामाई गाउँपालिकामा ३ हजार १ सय ३८ मतदाता थपिएर १५ हजार ९ जना पुगेका छन् । जिल्लाको विकट क्षेत्रमा पर्ने ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा सानो संख्यामा मतदाता छन् । 

 

ताप्लीमा १ हजार ८ सय २४ मतदाता थपिएर १० हजार १ सय २२ पुगेको छ । लिम्चुङबुङमा १ हजार ९ सय १३ मतदाता थपिँदा यो संख्या ८ हजार ८ सय ७६ पुगेको छ । अहिले नै अन्तिम मतदाता नामावली नआई पुगेकाले थपघट हुन सक्ने निर्वाचन कार्यालय प्रमुख बरालले बताए ।

 

उदयपुरका चार पालिकाको जनगणनामा जनसंख्या घटे पनि मतदाता संख्या भने बढेको छ । जनगणना २०७८ को तथ्यांकमा लिम्चुङबुङ गाउँपालिकाको जनसंख्या ९ हजार ७ सय ८९ छ भने मतदाता ८ सय ८ सय ७६ जना रहेको छ । 

 

ताप्ली गाउँपालिकाको जनसंख्या १३ हजार ३ सय ३७ रहेकामा मतदाता संख्या १० हजार १ सय २२ छ । रौतामाई गाउँपालिकाको जनसंख्या २० हजार ४ सय १८ जना रहेकामा मतदाता संख्या १५ हजार ९ छ । 

 

उदयपुरगढीको जनसंख्या २८ हजार ९ सय २९ जना रहेकामा मतदाता संख्या २० हजार ४ सय ४२ पुगेको छ । चार पालिकामा अघिल्लो जनगणनाभन्दा अहिलेको जनगणनामा जनसंख्या घटेको तथ्यांकले देखाएको छ ।