close

बडीमालिकाका घरमा बच्चा जन्माउने महिला संख्या शून्य

बडीमालिकाका घरमा बच्चा जन्माउने महिला संख्या शून्य

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ६ कोर्धकी किडी बडुवालले साताैँ सन्तान कोर्ध सहरी स्वास्थ्य केन्द्रमा जन्माइन् । ६ सन्तान केही घरमै र केही गाउँबाट टाढा रहेको बूढीगंगा स्वास्थ्य चौकी जडांगामा जन्माइएकी थिइन् ।

 

तर गाउँमा स्वास्थ्य केन्द्र स्थापना भएपछि उनले त्यहीकै स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको सहयोगमा पहिलो पटक सन्तान जन्माएकी हुन् ।  किडीजस्तै मीना बडुवालले पनि कोर्ध सहरी स्वास्थ्य केन्द्रमा बच्चा जन्माइन् । गाउँमा स्वास्थ्य केन्द्र स्थापनापछि बडीमालिका वडा नम्बर ६ का ३५० परिवारले गर्भवती जाँचदेखि सुत्केरी सेवा पाइरहेका छन् । 

 

गाउँमा स्वास्थ्य केन्द्र स्थापना नहुँदा २ घन्टा बढी समय लगाएर बूढीगंगा स्वास्थ्य चौकीमा सुत्केरी सेवा र गर्भवती जाँच गर्नुपर्ने अवस्था थियो । बूढीगंगा स्वास्थ्य चौकी टाढा भएकाले केहीले घरमै बच्चा जन्माउने, स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमा बच्चा जन्माउनुपर्ने बाध्यता थियो । 

 

धेरै महिला स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका थिए । ३५० परिवारलाई लक्षित गरेर नगरपालिकाले गाउँमै कोर्ध सहरी स्वास्थ्य संस्था स्थापना गरेपछि गर्भजाँच र सुत्केरी सेवा सहज भएको छ । 

 

कोर्ध सहरी स्वास्थ्य संस्थाबाट मात्र आर्थिक वर्ष ०७७/७८ मा ४१ जनाले सुत्केरी सेवा लिएका थिए । यो वर्ष साउनयता मात्रै १७ जना महिलाले सुत्केरी सेवा लिइसकेको अनमी हेमा शाहीले बताइन् ।

 

आर्थिक वर्ष ०७७/७८ मा २ हजार २ सय ७६ जनाले उपचार सेवा पाएको स्वास्थ्य चौकीले बताएको छ । बडीमालिकाले सबै वडामा स्वास्थ्योपचार सेवा पुर्‍याउने उद्देश्यले ७ स्थानमा स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा सञ्चालन गरेको छ । स्वास्थ्य सेवाबाट वञ्चित कोर्ध, मना, रिला, रजाली, पाटा, पिनालेख, चौराटामा सहरी स्वास्थ्य चौकी स्थापना गरेर स्वास्थ्य सेवा दिन थालिएको छ ।

 

बडीमालिका नगरपालिका वडा नम्बर ७ मा १० शय्याको अस्पताल स्थापनाको तयारी छ । कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहुन् भनेरै नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकता राखेको छ । 

 

गाउँ–गाउँमा स्वास्थ्य संस्था घरमा बच्चा जन्माउने संख्या न्यून हुँदै गएको पाइएको छ । आर्थिक वर्ष ०७७/७८ मा ६ सय ५ र साउनयता अहिलेसम्म २ सय ७७ जनाले स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका छन् ।