close

बडीमालिकामा प्रभावकारी बन्दै महिलासँग उप–प्रमुख कार्यक्रम 

बडीमालिकामा प्रभावकारी बन्दै महिलासँग उप–प्रमुख कार्यक्रम 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बडीमालिका नगरपालिकाले सञ्चालन गर्दै आएको महिलासँग उप– प्रमुख कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगर उप–प्रमुख कविता विष्टले अघि सारेको महिलासँग उप–प्रमुख कार्यक्रमले कोरोना महामारीका बेलासमेत हिंसामा परेका महिला, अपांगता भएका, अशक्त र विपन्न परिवारका एकल महिलालाई आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आएको छ ।

 


नगरपालिकाको पहिलो नगरसभाबाट पारित महिलासँग उप–प्रमुख कार्यक्रमले नगरभित्रका महिला तथा बालबालिकालाई बालविवाह, लैंगिक हिंसा, बाल हिंसासम्बन्धी सचेतना कार्य गर्दै आएको नगर उप–प्रमुख कविता विष्टले बताइन् ।

 

उनका अनुसार नगरपालिकामा विपन्न, हिंसापीडित महिला एवं श्रीमान् गुमाएका एकल महिलाको क्षमता विकास र आयआर्जनमा उन्मुख बनाउन कार्यक्रम अघि सारिएको हो । महिलासँग उप–प्रमुख कार्यक्रमले समाजमा अन्धविश्वासका रूपमा रहेको छाउपडी प्रथा अन्त्य र छाउ भएका महिलालाई सुरक्षित घरभित्र बसाउन छाउ गोठमुक्त अभियानले सार्थक हुन थालेको बडीमालिका नगरपालिका महिला तथा बालबालिका उप–शाखाकी महिला सहायक निरीक्षक बिन्दु बडालले दाबी गरिन् ।

 

उनका अनुसार नगरपालिकाको महिला तथा बालबालिका उप–शाखाले सञ्चालन गर्दै आएको छाउपडी गोठमुक्त अभियान पाँच वटा वडामा घोषणा भइसकेको बडालले बताइन् । नगरपालिकाका २ र ८ नम्बर वडालाई २४ फागुनमा नारी दिवस अवसरमा छाउ गोठमुक्त घोषणा गर्ने तयारी छ ।


छाउ गोठमुक्त वडा घोषणाका लागि दुई वटै वडाका धामीझाँक्री, पुरोहित र सासू–बुहारीसँग छलफल भइरहेको महिला तथा बालबालिका उप–शाखाकी महिला विकास सहायक निरीक्षक शोभा शाहले जानकारी दिइन् । कार्यक्रमको पहिलो प्राथमिकता छाउगोठ मुक्त रहेको छ । महिलाले छाउ भएका बेला चिसो गोठमा बस्नुपर्ने, तिनलाई सर्पले टोक्ने, चिसोबाट स्वास्थ्यमा समस्या आउने र बलात्कारका घटना न्यूनीकरण गर्न नगरपालिकाले छाउ गोठमुक्त अभियान सञ्चालन गरेको महिला सहायक निरीक्षक बडालको भनाइ छ ।

 

उक्त कार्यक्रमले गर्भवती भएका महिलाका लागि सुत्केरी भाँडो पनि सञ्चालन गर्दै आएको छ । गर्भवती महिलालाई चाहिने आवश्यक अन्डा, फलफूल र पोषिलो खानेकुरा वितरण गर्दै आएको नगर उप– प्रमुख विष्टले बताइन् । नगरभित्रका ९ वटै वडामा रहेका महिला, बालबालिका, एकल महिला, विपन्न र अपांगता भएका महिलालाई क्षमता अभिवृद्धिका तालिम र उनीहरूलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम सञ्चालन भइरहेको महिला विकास सहायक निरीक्षक बडालले जानकारी दिइन् ।

 

उनका अनुसार क्षमता विकास तथा आत्मनिर्भर कार्यक्रममा १ सय ५० भन्दा बढी महिलाले सीप सिकिसकेका छन् । महिलामाथि हुने हिंसा र त्यसको कानुनी उपचारलगायतका विषयमा तालिम तथा सचेतना कार्यक्रममा ५० बढी हिंसापीडित महिला सहभागी भएको उनको भनाइ छ ।