close

प्रदेश प्रमुख जोशीलाई बूढीनन्दा नगरबासीको स्वागत

प्रदेश प्रमुख जोशीलाई बूढीनन्दा नगरबासीको स्वागत

Trulli
ADVERTISEMENT

बाजुरा–सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीलाई बूढीनन्दा नगरपालिकाको कोल्टीमा स्वागत तथा अभिनन्दन गरिएको छ । जोशी बूढीनन्दाका स्थायी वासिन्दा हुन् । गृहजिल्ला भम्रणका क्रममा कोल्टी पुगेका जोशीलाई नगरबासीले बाजागाजा र फूलमालासहित स्वागत र अभिनन्दन गरिएको हो । प्रदेश प्रमुख भएपछि साता लामो भ्रमण तालिका बनाएर बाजुरा पुगेका जोशी बिहीबार सदरमुकाम मार्तडी हुँदै कोल्टी पुगेका थिए ।

 


कोल्टीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले आफ्नो स्वागतका लागि कुन्डा क्षेत्रले देखाएको राजनीतिक संस्कारप्रति खुसी व्यक्त गर्नुभयो । छँदाखाँदाको जागिर त्यागेर नागरिकको सेवामा लागेकाले तिनका समस्या समाधानका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने विश्वास दिलाए ।


कार्यक्रममा बाजुरा कांग्रेस जिल्ला कार्यसमिति उपाध्यक्ष नारायण पाध्याय, हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल, बूढीनन्दा नगरपालिका प्रमुख पदमकुमार गिरी, उपप्रमुख सृष्टि रेग्मी, एमाले उपसचिव जनक बोहरा, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव अफिलाल जोशीलगायतले स्वागत गरेका थिए । सो अवसरमा नगरप्रमुख गिरीले प्रदेश प्रमुखलाई सम्मानपत्रसहित सम्मान गर्नुका साथै विभिन्न मागका पोकासहित ध्यानाकर्षण–पत्र बुझाएका थिए । 

 

खाद्य अधिकार माग गर्दै प्रदेश प्रमुखको ध्यानाकर्षण 

बाजुरामा खाद्य अधिकारका विभिन्न सवालको सम्बोधनको माग गर्दै खाद्य अधिकार सञ्जाल कोल्टीले प्रदेश प्रमुख देवराज जोशीलाई ध्यानार्कषण गराएको छ । प्रदेश प्रमुख जोशीलाई खाद्य अधिकार सुनिश्चितताको माग गर्दै ज्ञापनपत्रमार्फत ध्यानार्कषण गराइएको खाद्य अधिकार सञ्जाल कोल्टीका अध्यक्ष नहकुल जोशीले बताए ।


विशेषगरी वडा नम्बर १ का रुडी गाउँबासीले एक दशकदेखि सिँचाइ कुलो अवरुद्ध हुँदा अन्न उब्जनी गर्न नपाएको र त्यहाँका बालबालिकाको पोषणको अवस्था निकै दयनीय भएको प्रदेश प्रमुखलाई ध्यानार्कषण गराइएको हो ।


बाजुराका हलिया पेसाबाट विस्थापित भएको र उनीहरूको नाममा पनि जमिन नभएका कारण समस्यामा परेको, बूढीनन्दाका विभिन्न ठाउँमा खोलाले खेतबारी बगाउँदा किसान समस्यामा परेको र अल्पसंख्यक मुस्लिम समुदाय, दलित र पछाडि परेका समुदायको दीर्घकालीन खाद्य समस्या न्यूनीकरणको आग्रह गर्दै ध्यानार्कषण गराइएको हो । ज्ञापनपत्र बुझ्दै प्रदेश प्रमुख जोशीले माग सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक प्रक्रियाका लागि पहल गर्ने आश्वासन दिए ।