close

जनमत र जसपा विवाद : बजेट अड्कियो, पुराना प्रशासकीय अधिकृतले रमाना नपाएपछि नयाँ आउने बाटो समेत छेकियो

आर्थिक वर्ष २०८०/०८१ सुरू भएको एक महिना बित्नलाग्दा पनि हनुमाननगर कंकालिनी नगरपालिकामा नगरसभा हुन सकेको छैन । असार १० मै ल्याउनुपर्ने बजेट साउन बित्नलाग्दा समेत नल्याउनुकाे स्पष्ट कारण जनप्रतिनिधिले दिन सकिरहेका छैनन् । उनीहरू एक अर्कालाई आरोप लगाईरहेका छन् ।

जनमत र जसपा विवाद : बजेट अड्कियो, पुराना प्रशासकीय अधिकृतले रमाना नपाएपछि नयाँ आउने बाटो समेत छेकियो

आर्थिक वर्ष २०८०/०८१ सुरू भएको एक महिना बित्नलाग्दा पनि हनुमाननगर कंकालिनी नगरपालिकामा नगरसभा हुन सकेको छैन । असार १० मै ल्याउनुपर्ने बजेट साउन बित्नलाग्दा समेत नल्याउनुकाे स्पष्ट कारण जनप्रतिनिधिले दिन सकिरहेका छैनन् । उनीहरू एक अर्कालाई आरोप लगाईरहेका छन् ।

Trulli
ADVERTISEMENT

सप्तरी-  हनुमाननगर कंकालिनी नगरपालिकामा नगरसभा नभएपछि विकास निर्माणसँगै सेवा पनि ठप्प भएको छ । नगरप्रमुख बिरेन्द्र माझीका अनुसार जनप्रतिनिधिहरुबीच भएको राजनीतिक खिचातानीले नगरसभा हुन नसकेको हो ।

नगरसभा सञ्चालन गर्नको लागि आफू प्रयास गर्दै आएता पनि विफल भएको उनले पालिकाखबरलाई बताए । 

‘राजनीतिक बहुमत नभएकोले नगरपालिकामा नगरसभा हुन सकेको छैन । त्यसैले विकास काम बन्द नै छ,’ उनले भने, ‘गत आर्थिक वर्ष २०७९/०८० को  विकास निर्माण कार्य  असार मसान्तभित्र सम्पन्न भइसकेको छ । तर पालिकाबाट दिने सेवा र विकास निर्माणको कार्य सबै बन्द नै छ ।’

उनले नगरसभा सञ्चालन गर्नको लागि प्रयास गर्दै आएको सुनाए । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा भएकाले पनि हालसम्म नगरसभा नभएको उनले बताए । ‘प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको एक हप्ता भयो । तर नयाँ आउनु भएको छैन,’ उनले भने, ‘नयाँ हाकिम साब हाजिर भएपछि बैठक बस्ने छौँ र नगरसभाको लागि छलफल गर्नेछौँ ।’ उनले भदौ मसान्तसम्म नगरसभा सम्पन्न गरी नयाँ योजना सञ्चालनमा ल्याउने बताए । 

नगर उपप्रमुख सरितादेवी यादव तथा अन्य सात जना वडा अध्यक्षले राजनीतिक दाउपेज लगाएर नगरसभा हुन नदिएको आरोप उनको छ । उपप्रमुखसहित ७ जना वडाध्यक्ष जनता समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् । 

जसपाको जनप्रतिनिधिले नगरपालिकाको बजेट वडामा बाँडफाँड गरेर काम गर्ने माग राखेकोले नगरसभा नभएको उनको भनाइ छ । ‘उहाँहरुले नगरपालिकाको काम वडाबाट गर्ने माग गर्नुभएको छ । नगरपालिकाभित्रको विभिन्न शाखा छ,’ उनले भने, ‘सम्पूर्ण शाखाको सबै बजेटको सिलिङ वडाबाट गर्ने माग गर्नु भएको छ । त्यहीँ भएर नगरसभा नभएको हो ।’ उनले थप छलफल गरी नगरसभा सम्पन्न गर्ने  पालिकाखबरलाई जानकारी दिए । 

उता उपप्रमुख यादवले आफूले गत आवको खर्च विवरण नपाएकाले नगरसभा रोकिएको बताउँछिन् । टेलिफोनमार्फत पालिकाखबरसँग सम्पर्कमा आएकी उपप्रमुख यादवले गत आर्थिक वर्षमा नगरपालिकाभित्र भएका १४ वटै वडाको खर्च विवरण प्रमुख प्रशासकीय अधिकृत र अन्य प्रतिनिधिसँग माग गरेको बताइन् । 

तर, अल्मलाएर र विभिन्न कारण देखाउँदै खर्च विवरण नदिएको उनले सुनाइन् । सोही विषय र राजनीतिक कारणले नगरसभा हुन नदिएको उनले स्वीकार गरिन् । असार मसान्तसम्म नगरसभा गर्नुपर्ने भएकोले सबै जना थाकेको र आफूखुसी गएकोले केही समस्या आएको उनले बताइन् । 

‘१४ वटै वडाको खर्च विवरण माग गरेको थिएँ तर दिनुभएन,’ उनले भनिन्, ‘असार मसान्तसम्म नगरसभा गर्नु भनेको थियो । सबै थाके । कोही कहाँ गए । कोही कहाँ ।’

नगरप्रमुख माझी केही दिन बाहिर रहेकोले दुईदेखि कुनै कुराकानी नभएको उनले सुनाइन्  ‘मेयरसाब बाहिर हुनुहुन्थ्यो । म पनि बाहिर थिए,’ उनले भनिन्, ‘आज नगरपािलकाले जाँदैछु ।  मेयरसाबले के भन्न्नु हुन्छ । अब हेरेर गर्नेछौँ ।’

उनले नगरपालिकामा अघिल्लो आर्थिक वर्षसम्म त सबै ठिक भएको तर  बिचमा मात्रै केही समस्या आएको बताइन् । अब नयाँ प्रमुख प्रशासकीय अधिकृत आएसँगै आफूहरु छलफल गरेर नगरसभा गर्ने उनले सुनाइन् । ‘नगरसभा जसरी भएपनि गर्नुपर्छ । आज या भोलि भन्ने मात्रै हो,’ उनले भने, ‘सकेसम्म मिलेर चाडैँ नगरसभा ल्याएर सेवा सञ्चालनमा ल्याउने छौँ ।’

१४ वटा वडा रहेको नगरपालिकामा नगरप्रमुख माझि र दुई  जना वडा अध्यक्ष जनमत पार्टी, उपप्रमुख यादव र ७ जना वडा अध्यक्ष जसपा, ४ जना वडा अध्यक्ष माओवादीबाट र एक जना नेपाली काँग्रेसबाट निर्वाचित भएका छन् । नगरपालिकामा कुनै पनि राजनीतिक दलको बहुमत छैन । 

बजेट सिलिङ नमिलेपछि भएन नगरसभा
भर्खरै सरूवा भएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले जनप्रतिनिधिहरुबीच बजेट सिलिङ नमिलेको नगरसभा हुन नसकेको बताए । उनका अनुसार नगरपालिकामा गत आवको तुलनामा यस वर्ष समानीकरण बजेट घटेर आएको तर केही वडाले धेरै बजेट माग गरेपछि समस्या सृजना भएको हो । 

‘यो वर्ष समानीकरणमा १३ करोड बजेट आएको छ । थोरै बजेट आएपछि वडाको बजेट सिलिङ कम हुनुपर्ने हो,’ उनले भने, ‘तर एक पक्ष वडामा बजेट घटाउनुपर्ने र अर्को पक्ष वडामा बजेट बढाउनुपर्ने माग गर्नुहुन्छ । यही विषयमा विवाद भएको हो ।’

उनले  बजेट सिलिङको कार्य राजनीतिक पाटो रहेको र प्रशासनले आवश्यक बाटो देखाउनुका साथै कानुन बमोजिम काम गर्न लगाउने बताए । उनले भने, ‘राजनीतिक सहमतिबाट बजेट विनियोजन हुनुपर्ने हो । तर सहमति नै भएन ।’

उनले नगरसभा गर्नको लागि औपचारिक र अनौपचारिक गरी करिब १० पटकसम्म बैैठक बसेको बताए । ‘बजेट सिलिङ तयार गर्दासम्म सहज थियाे, त्यसपछि अघि बढ्न सकेन । बजेटको सिलिङमा सहमति गर्न सकिनँ,’ उनले भने । 

नगरपालिकाभित्र केहीको व्यक्तिगत र राजनीतिक स्वार्थले बजेट आउन नसकेको आरोप उनको छ । स्थानीय जनप्रतिनिधिबीच राजनीतिक विभेद र चासो नभएकाले हालसम्म नगरसभा नभएको उनले पालिकाखबरलाई सुनाए । 

नगरसभा नभएकोले नगरपालिकामा आर्थिक कारोबार र विकास निर्माणको कार्य रोकिएपछि प्रशासनिक कार्य सञ्चालन भएको उनले बताए । ‘प्रशासकीय सेवा तथा जनताको सेवा निरन्तर नै छ । विकासे र आर्थिक कारोबार भएको छैन,’ उनले भने । 

उनले नगरपालिकामा तत्कालै नगरसभा हुने अवस्था नरहेकाे बताए । आफू सरुवा भएपनि नगरपालिकाले रमाना नदिएको उनले सुनाए ।