close

पदीय मर्यादा बिर्सिँदै, ‘डाँडाघरे साइली’ सम्झिँदै (भिडियो)

पदीय मर्यादा बिर्सिँदै, ‘डाँडाघरे साइली’ सम्झिँदै (भिडियो)

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिमध्ये धेरैले मेयर बालेन साह र उपमेयर सुनिता डंगोललाई मात्रै सेलेब्रेटी ठानेका थिए । तर, यो महानरपालिकाको वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल नयाँ सेलेब्रेटी बनेर निस्केका छन् ।

रिजालले वडाध्यक्षको कुर्सीमा बसेर बनाएको भिडियो अहिले भाइरल बनिरहेको छ । 

‘ओए डाँडाघरे साइली 
मैले हत्ते गरेर के गर्ने ?’

१५ सेकेन्डको यो भिडियोमा रिजालको एक्टिङ पनि हेर्न लायक नै छ । तर, उनले पछाडि राष्ट्रिय झन्डा फहराएर वडाध्यक्षको कुर्सीमा हल्लिदैँ बनाएको भिडियोले अहिले सामाजिक सञ्जाललाई निकै तताएको छ । 

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका रिजालले ४ हजार १९ मत हासिल गर्दै जित हासिल गरेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वि नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३१० मत मात्रै पाएका थिए ।

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा मेयर साहलाई चर्को स्वरमा बैठक बस्ने नियम सिक्न आग्रह गरेका रिजालले समेत वडाध्यक्षको कुर्सी र पदको मर्यादा के हो भन्ने सिक्नु पर्ने देखिएको छ । समाजिक सञ्जालमा उनले यस्तै प्रतिक्रिया पाइरहेका छन् ।

समाजिक सञ्जालमा रहेका कतिपयले यो उनको वैयक्तिक अधिकार भइको प्रतिक्रिया समेत दिएका छन् । तर, अधिकांशले उनको खेदो नै खनेका छन् । सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

पालिका खबरले वडाध्यक्ष रिजालसँग उनलाई यस चर्चित बनाउने भाइरल भिडियो र उनले बिर्सिएको पदिय मर्यादा बारे जिज्ञासा राख्दा प्रतिक्रिया दिन मानेनन् ।

'म अहिले बोल्न नमिल्ने ठाउँमा छु, पछि कुरा गरौँला नि हुन्न,' पालिका खबरसँग उनले भने ।