close

हिमाली र स्वामिकार्तिक खापर पालिकामा फोरजी जडानका लागि अध्यक्ष मल्ल र रोकाया सक्रिय

हिमाली र स्वामिकार्तिक खापर पालिकामा फोरजी जडानका लागि अध्यक्ष मल्ल र रोकाया सक्रिय

Trulli
ADVERTISEMENT

बाजुरा । बाजुराको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा फोरजी सेवा जडानका लागि नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरीयासँग पहल भएको छ । 

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल र स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले गाउँपालिकामा फोरजी सेवा जडानका लागि पहल गर्नुभएको हो । कुन्ना क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाका अध्यक्ष मल्ल र रोकायाले टेलिफोन टावर सहित फोरजी सेवा विस्तारका लागि पहल भएको बताए । 

गाउँपालिकामा यसअघि सामान्य फोन सेवासमेत नपाएका ठाउँका स्थानीयको गुनासोलाई लिएर अध्यक्षद्वय मल्ल र रोकाया मंगलबार नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरीया पुगेका थिए । 

सेवालाई गुणस्तरीय बनाउन र सेवा नपुगेको ठाउँमा विस्तार गर्न नेपाल टेलिकम क्षेत्रीय कार्यालयका डाइरेक्टर किशोरकुमार भट्टसँग समन्वय भएको स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष रोकायाले बताए । 

यसका उनले लागि बाजुराको कालाजग्रामा रहेको रिपिटर टावरलाई जस्तोसुकै अवस्थामा सञ्चालन गर्न ब्याकअपको व्यवस्थापनका लागि डाइरेक्टर भट्टसँग छलफल भएर तत्काल कार्य सञ्चालन गर्न सहमति भएको बताए । 

जगन्नाथ, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकालगायत कोल्टी क्षेत्रमा रहेको स्काइ टारवरलाई पनि स्तरोन्नति गर्ने सहमति भएको अध्यक्ष रोकायाले बताए । 

स्वामीकार्तिक खापर गाउँपालिकामा फोरजी सेवा सञ्चालित गर्न नयाँ टावरको निर्माण गर्न तत्काल प्राविधिक खटाई सर्वेक्षण हुने भट्टले बताए । 

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि कार्यभार समालेको महिना दिन नपुग्दै स्थानीयका विभिन्न समस्या समाधानमा जुटिरहेका छन् ।

स्वामीकार्तिक गाउँपालिकामा व्याप्त कुपोषण न्यूनीकरणका लागि ६७ लाख उपलब्ध

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले गाउँपालिकामा व्याप्त रहेको कुपोषण न्यूनीकरणका लागि ६७ लाख उपलब्ध भएको बताए । 

विशेषगरी गाउँपालिका–१ मुक्तिकोटको कुपोषणको समस्यालाई मध्यनजर गर्दै सो रकम व्यवस्था  भएको उनले बताए । 

वडा नम्बर–१को मुक्तिकोटमा चुलिँदै गएको कुषोषणमा सुधार ल्याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग र बहुक्षेत्रीय पोषण कार्यक्रमबाट रकम उपलब्ध भएको जानकारी उनले दिए ।

उनले पोषणको क्षेत्रमा काम गर्नेगरी प्रदेश सरकारअन्तर्गतको नीति तथा योजना आयोगबाट ५० लाख र कहुक्षेत्रीय पोषण कार्यक्रमबाट १७ लाख गरी ६७ लाख रकम व्यवस्थापन भएको बताए । 

प्रदेश नीति तथा योजना आयोगका सचिव नारायण पौडेल र जनस्वास्थ्य अधिकारी ज्ञानेन्द्र दवाडीको अथक प्रयासले पोषण क्षेत्रका लागि विशेष अनुदान उपलब्ध भएको अध्यक्ष रोकायाले बताए । 

सचिव पौडेल  र जनस्वास्थ्य अधिकारी दवाडीको पहलमा नेपाल सरकारको अनुदानमा एक हप्ता दिनभित्र स्वामीकार्तिक गाउँपालिकाका गर्भवती महिला र २३ महिनासम्मका सम्पूर्ण बालबालिकालाई सर्वोत्तम पिठो डब्लुएफपीले वितरण गर्ने उनले बताए । 

‘उहाँहरूकै पहलमा यसअघि वडा नम्बर–१ का तीन सय घरधुरीका प्रत्येक व्यक्तिलाई खाद्यान्न वितरण र स्थानीयको स्वास्थ्य चेकजाँचका लागि गाउँपालिकामा हेल्थ क्याम्प स्थापना गर्ने पहल भएको थियो,’ अध्यक्ष रोकायाले भने ।