close

बाजुराका एक सयभन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा

बाजुराका एक सयभन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा

Trulli
ADVERTISEMENT

बाजुरा । बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्यांकअनुसार ९स्थानीय तहका एक सय १६ बढी गाउँ बाढी पहिरोको जोखिममा रहेका हुन् । 

जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेका पाइएको छ । बुढीनन्दा नगरपालिकाका १० गाउँ बाढीपहिरोको जोखिममा छन् । 

नगरपालिकाको पिपलडाली, साउने गाउँ, दैया, मटेला, पार्तोला, जंसाल, रावतवाडा, कोल्टी बजार घोडाकोट, भुलेना, सिराडी, नौलाकोटलगायत गाउँ स्थानान्तरण गरिनुपर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

जोमिमा रहेका गाउँ कुन–कुन हुन् ?

जगन्नाथ गाउँपालिकाको मुसेखोला, तल्लो हुनी र बस्केना गरी तीन गाउँ उच्च जोखिममा छन् । त्यस्तै स्वामीकार्तिक गाउँपालिकाका ९ गाउँ जोखिममा रहेका छन् । गाउँपालिकाको वर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी जुकु, वाइ, मिगु गाउँ जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । हिमाली गाउँपालिका पाँच वटा गाउँ जोखिममा रहेका छन् । 

त्यस्तै बडिमालिका नगरपालिकाका १५ गाउँ उच्च जोखिममा रहेका छन् । तिपाडा, वलेना, जडाँगा, राप्का, बाउली गडखेत, भौनेरा, घागर र चुथी जोखिममा रहेका छन्, । त्यस्तै मैमातोला, विष्टवाडा, जिल्ली, सिराडी, बथानलेख, सल्लेना, पाटा रहेका छन् । 

गौमुल गाउँपालिका २१ गाउँका ३ सय ३२ परिवार उच्च जोखिम रहेका छन् । त्रिवेणी नगरपालिकाका १३ गाउँका ९ सय ७१ परिवारलाई अन्यत्र सारिनुपर्ने प्रतिकार्य योजनामा उल्लेख छ । 

नगरपालिकाको १ विसाल बजारका १ सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोटकका २ सय ७२ घरधुरी, वडा नं ४ को पीपलसैन राउतेलाका १ सय ५७ घरधुरी, वडा ५ किम्नीका २ सय १७ घरधुरी जोखिममा रहेका छन् । 

बुढीगंगा नगरपालिकामा २५ गाउँका ६ सय २५ परिवार उच्च जोखिममा रहेका छन् । खप्तड छेडेदह गाउँपालिकामा १४ गाउँका ३ सय ३२ परिवार जोखिममा रहेका छन् । 

गाउँपालिका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाउँ उच्च जोखिममा छन् । बर्षा शुरु भएसँगै अहिले सबै गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् । 

खोला, खोल्सा तथा नदी आसपासमा रहेका बस्ती जोखिममा हुँदा स्थानीयलाई वर्षेनी समस्या हुने गरेको छ । गाउँ गाउँमा डोजर मार्फत सडक खन्दा पनि बाढी पहिरोको जोखम निम्तिने गरेको छ ।

के भन्छ, जिल्ला प्रशासन कार्यालय 

विपत् जोखिम कम गर्न र विपत् आइसकेपछि उद्धारलगायत कार्यका लागि सबै निकायलाई निर्देशन दिइएको र सेना प्रहरी सबैलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।