close

पाँच वर्षभित्र पालिकाको मुहार फेर्छु : अध्यक्ष साउँद (भिडियो कुराकानी)

पाँच वर्षभित्र पालिकाको मुहार फेर्छु : अध्यक्ष साउँद (भिडियो कुराकानी)

ADVERTISEMENT

अछाम । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी बनेर नेपाली काँग्रेसका टेकबहादुर साउँद अछामको बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख बनेका छन् ।  

गणतन्त्र स्थापनापछि भएको दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न हुँदा समेत अहिलेसम्म कतिपय स्थानीय तहले आफ्नै प्रशासकीय भवन समेत बनाउन सको छैनन् । जसले गर्दा विकास निर्माणमा खर्च हुने रकमबाट घर भाडा तिर्नु पर्ने बाध्यता छ । आफ्नो पालिकालाई यस्तो अवस्थाबाट मुक्ति दिन साउँदले पनि कम्मर कसिसकेका छन् । प्रशासनिक भवन निर्माणका लागि गाउँपालिकाले बजेट समेत विनियोजन गरेको छ ।  

स्थानीय तहको निर्वाचनमा खटिँदै गर्दा नै साउँदलाई यो विषयले सताएको थियो । आफ्नो कुरा जनता माझ राख्दै उनले आफू विजयी भएको खण्डमा पहिलो काम नै प्रशासनिक भवन बनाउने वाचा गरेका थिए । जनताले उनलाई विश्वास गरे । अनि काँग्रेसका स्थानीय नेता साउँद बान्नीगढी गाउँपालिकाको अध्यक्ष बने । उनले चुनाव जिते लगत्तै गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा खोजे अनि बजेट पनि छुट्टाए । त्योसँगै अध्यक्ष साउँदले केन्द्र सरकारले अघि बढाएको नीतिलाई साथ दिँदै एक घर एक धाराको लक्ष्य प्राप्तिका लागि काम समेत सुरु गरिसकेका छन् । 

बान्नीगढी जयगढ गाउँपालिका अहिले पनि धेरै कुरामा पछाडि छ । तर, ५ वर्षसम्म बाटो खन्ने काम भएपनि त्यसको स्तरोन्नति हुन नसक्दा सवारी साधन चल्न सक्ने अवस्था छैन । त्यसैले अध्यक्ष साउँदले सडक स्तरोन्नतिलाई पनि प्राथमिकताका साथ अगाडि बढाएका छन् । उनले गाउँपालिकाका प्रत्येक वडामा बाह्रै महिना सवारी गुड्न सक्ने सडक निर्माण गर्ने लक्ष्य रहेको पालिकाखबरलाई बताए । 

शिक्षामा गुणस्तरीयता कायम गराउनका लागि पालिकाभरि संचालनमा रहेका सामुदायिक विद्यालय व्यवस्थापन समितिसँगै शिक्षक, अभिभावक र शिक्षाविद्सँग उनले निरन्तर छलफल अघि बढाइ रहेका छन् । सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आफूले कुनै कसर बाँकी नराख्ने अध्यक्ष साउँदको दाबी छ । बालबालिकाको चौतर्फी विकासका लागि पनि शिक्षामा आमूल परिवर्तन जरुरी रहेको उनी बताउँछन् । 
साथै उनले बसाइसराइ गरेर तराईमा झर्नेहरूलाई रोक्नुलाई ठुलो चुनौतीका रुपमा लिएका छन् । उनी भन्छन्, ‘सानो ठुलो व्यवसाय गरेर पैसा कमाएपछि गाउँघर बिर्सेर तराई झर्ने प्रवृत्तिलाई रोक्न मैले युवाहरूलाई समेत कृषि उत्पादनसँग जोड्ने अभियान सुरु गर्ने मनसाय बनाएको छु ।’ 

स्थानीयहरू तराइ झर्ने क्रममा रोक्न पालिकामा स्तरीय स्वास्थ्य, शिक्षा, शुद्ध पिउने पानीको व्यवस्था गर्नुपर्ने कुरामा उनी सहमत छन् । त्यसका लागि उनले नीति तथा कार्यक्रमसँगै बजेटमा यो विषय उल्लेख गरेका छन् । 

स्थानीय उत्पादनलाई बजारीकरण गर्न र युवाहरूलाई स्वदेशमै केही गर्नका लागि आफ्नो गाउँ ठाउँ आफैँ बनाऔँ अभियान संचालन गरेका छन् । युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न गाउँपालिकामै युवा केन्द्रित उद्योग व्यवसाय र युवामैत्री कार्यक्रमहरू अघि सारेका छन् । उनी भन्छन्– ‘यो गाउँको विकासका लागि गर्नु पर्ने धेरै कार्य छन् । सक्छु भन्ने आत्मविश्वास छ । मेरो कार्यकालमा यो पालिकाको मुहार फेर्छु ।’ 

प्रस्तुत छ, पालिकाखबरकर्मी जनकराज पण्डितले अध्यक्ष साउँदसँग गरेको कुराकानीको सम्पादित अंश ।