close

चामुण्डा बिन्द्रासैनीको अभियान, एक युवा अनेक उद्यम  (भिडियो कुराकानी)

चामुण्डा बिन्द्रासैनीको अभियान, एक युवा अनेक उद्यम  (भिडियो कुराकानी)

ADVERTISEMENT

दैलेख । कर्णाली प्रदेश आफैँमा पछि छ । यहाँका कतिपय स्थानीय तह नाम मात्रैका लागि नगरपालिका बनाइएका छन् । त्यसमध्ये एक हो, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ।  

मुलुक संघीय संरचनामा गएपछि तत्कालीन गाउँ विकास समितिहरूलाई गाभेर नगरपालिका बनाइयो । एउटा नगरपालिकामा बन्न आवश्यक आधारभूत संरचनामा समेत नभएका स्थानीय तहलाई राजनीतिक स्वार्थका लागि नगरपालिका बनाइयो । तर, दोस्रो पटक जनप्रतिनिधि चुनिएर आउँदा समेत चामुण्डा बिन्द्रासैनी लगायत कतिपय नगरपालिकाको मुहार फेरिन सकेको छैन ।

आवश्यक श्रोत साधन र नगरपालिका बन्न चाहिने संरचना अनि पहाडी जिल्ला भएकाले पनि चामुण्डा बिन्द्रासैनी पछि परेको नव निर्वाचित नगर प्रमुख गणेशबहादुर शाहीको धारणा छ । नगरप्रमुख शाही कै भनाइलाई आधार बनाउँदा यो नगरपालिकामा न अस्पताल छ, नत कुनै डाक्टर नै ।

बिरामी परेर साधारण एक्सरे र भिडियो एक्सरे गर्न समेत जिल्ला सदरमुकाम वा छिमेकी जिल्ला धाउनु पर्ने बाध्यता छ । यो नगरपालिका स्वास्थ्य क्षेत्रमा मात्रै होइन खाद्यवस्तुमा समेत परनिर्भर छ । दैनिक उपभोग्य वस्तुहरू जस्तै दाल, चामल, तेल, चिनी तथा तरकारी अन्य स्थानबाट ल्याउनु पर्छ । शुद्ध पिउनेपानीको सधैँ हाहाकार हुन्छ । जनताका समस्या समाधान गर्दा अपनाउनु पर्ने झन्झटिलो प्रक्रिया अनि आर्थिक, भौतिक तथा मानवीय स्रोत साधनको अभाव र परिचालन यो पालिकाका लागि थप चुनौती बनेको छ । यिनै चुनौतीसँग जुधेर विकट गाउँबस्तीको नगरपालिका चामुण्डा बिन्द्रासैनीलाई आगामी ५ वर्षभित्र सुन्दर नगरीमा रुपान्तरण गर्ने योजना प्रमुख शाहीको छ । 

नगरपालिकाले ‘दिगो विकासका लागि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र रोजगार, समृद्ध चामुण्डा बिन्द्रासैनी नगर निर्माणको मूल आधार’ भन्ने नारासहित ५ बर्षे रणनीतिक योजना अघि बढाएको छ । शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तय गरेको यस नगरपालिकाका विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएपछि स्वयंसेवक शिक्षकमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना अघि सारेको छ ।

त्यसैगरी नगरपालिकामा आंगिक क्याम्पस नहुँदा विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न अन्यत्र जानु पर्ने बाध्यता छ । त्यसैले शाही आफ्नै नगरपालिकामा आंगिक क्याम्पस संचालन गर्ने तयारीमा जुटेका छन् । त्यसैगरी नगरमा निर्माणाधीन अवस्थाको १५ शय्याको विन्द्रासैनी अस्पतालको निर्माण कार्य तोकिएकै अवधिमा सम्पन्न गर्ने र अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन गरेर सेवा सुरु गर्ने उनको योजना छ । 

६० वर्ष देखि ६७ वर्ष उमेर समूहका नागरिकहरू सरकारले संचालन गर्ने रोजगारमूलक कार्यक्रममा सहभागी हुन नपाउने नियम छ । यो उमेर समूहकाले सामाजिक सुरक्षा भत्ता समेत नपाउने हुँदा “नगर प्रमुख नागरिक सुरक्षा कार्यक्रम” मार्फत उनीहरूलाई सुविधा उपलब्ध गराइने योजना पनि छ । नगरपालिकामा स्थायी रुपमा बसोबास भएका र आमा बाबु गुमाएका, आमा बाबु मध्ये कुनै एक नभएका र अरूको सहारामा बाँचिरहेका सहाराविहीन बालबालिकाहरूलाई सहयोग पुग्ने गरी “बेसहारासँग नगरप्रमुख” कार्यक्रम तर्जुमा गरी कार्यान्वयन लगिएको छ । कृषि तथा पशुपालनको क्षेत्रमा “एक वडा एक उत्पादन विशेष” कार्यक्रम तर्जुमा गरी कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न “एक युवा अनेक उद्यम” को नारासहित पालिकाका हरेक युवाहरूलाई कुनै न कुनै उद्यम व्यवसायमा संलग्न गराइने योजना उनको छ । 

छाउपडी प्रथा, जातीय छुवाछुत, बालविवाह, बहुविवाह, घरेलु हिंसा जस्ता सामाजिक विकृति विरुद्ध विशेष अभियान सञ्चालन गरिने यो नगरपालिकाको योजना छ । पालिकामा नयाँ जनप्रतिनिधि आएसँगै स्थानीयको गुनासा र समस्या सुन्नका लागि निःशुल्क टोल फ्रि सेवा सुचारु गरी सकेको छ । आधुनिक कृषि र आत्मनिर्भर कृषक बनाउने योजना सहित नगरपालिका अघि बढी रहेको छ ।

चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नवनिर्वाचित प्रमुख गणेशबहादुर शाहीका योजना योभन्दा धेरै छन् । प्रस्तुत छ, पालिकाखबरकर्मी जनकराज पण्डितले मेयर शाहीसँग गरेको कुराकानीको सम्पादित अंश ।