close

पालिकाबासी भन्छन् मेयर होस् त ‘लक्काभाइ’ जस्ता (भिडियो कुराकानी)

पालिकाबासी भन्छन् मेयर होस् त ‘लक्काभाइ’ जस्ता (भिडियो कुराकानी)

ADVERTISEMENT

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका नवनिर्वाचित नगरप्रमुख हुन्, पुष्करराज जोशी । तर उनलाई स्थानीयले पुष्करराज जोशीभन्दा पनि ‘लक्काभाइ’का नामले चिनिने गर्छन् । त्यसैले नगरप्रमुखको कक्ष बाहिर झुन्ड्याइएको नेम प्लेटमा समेत पुष्करराज जोशी अनि कोष्ठमा ‘लक्काभाइ’ भनेरै लेखिएको छ । 

नगरमा जहाँ खुसीयालीको उत्सव हुन्छ, लक्काभाइ पुगी हाल्छन् । जहाँ शोक परेको हुन्छ, त्यहाँ त नगइ छाड्दैनन्, सर्लक्क ७ फिटे ज्यानका लक्काभाइ । अनि लेनिनकट दारीमा कुनै फिल्मका अभिनेता झैँ देखिन्छन्, उनी । त्यसैले त नगरपालिकाबासी भन्छन्, मेयर होस् त लक्काभाइ जस्ता । यही कारण पनि होला, यसपालीको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट ६ हजार ५ सय ८५ मत ल्याएर उनी मेयरमा निर्वाचित भए । 

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ । यो नगरपालिका प्राकृतिक रूपले रमणीय छ । भारतसँग सीमा जोडिएको यस नगरपालिकामा माता त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लाशैनी लगायतका मन्दिरहरू धार्मिक पर्यटकीय स्थलका रुपमा परिचित छन् ।  ३४ हजार ५ सय ७५ जनसंख्या रहेको यस नगरपालिकाको आफ्नो बेग्लै पहिचान र इतिहास छ । १०४ बर्षे कठोर राणा शासनविरुद्ध संघर्ष गर्ने प्रमुख चार सहिद मध्ये सहिद दशरथचन्दको जन्म यसै नगरमा भएको थियो । उनकै नामबाट नगरपालिकाको नामकरण गरिएको हो । 

नवनिर्वाचित नगर प्रमुख जोशीसँग नगरको समृद्धिका लागि थुप्रै योजना र प्रतिबद्धताहरू छन् । उनको पहिलो प्राथमिकता भनेकै नगरमा सुशासन कायम गर्ने र जनतालाई सुशासनको प्रत्याभूति दिलाउने छ । त्यसका लागि उनले यही महिनादेखि पालिकाको सम्पूर्ण कार्य अनलाइनमार्फत सुरु गरिसकेका छन् । त्यसैगरी विद्युत्, खानेपानीको महसुल, अन्य पालिकामा तिरिने करका महसुलहरू पनि ई पेमेन्टमार्फत लिने व्यवस्था गरिएको छ । नगरलाई एक बर्षभित्र पेपरलेस बनाउने उनको योजना छ । 

जनताका आवश्यकताहरूलाई पहिलो प्राथमिकतामा राखेर योजना बैकमार्फत नै नगरमा योजना अघि बढाएका जोशीले जनतालाई सरकार छ भन्ने प्रत्याभूति दिलाउन पनि सुशासन अपरिहार्य रहेको बताए । त्यसैले त निर्वाचित भए लगत्तै उनले आफ्नो नगरमा मृत्यु भएका हरेक व्यक्तिको शव निःशुल्क रुपमा आर्यघाटसम्म पुर्‍याउने घोषणा गरे । त्यसैगरी नगरपालिकाका ११ वटै वडाका जनतालाई सेवा पुगोस् भन्नका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिसकेका छन् । उनले सुशासनको प्रारम्भिक अनुभूति हुने गरी स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन लगायतका क्षेत्रमा राहतका प्याकेजहरू ल्याइसकेका छन् । 

नगरप्रमुख जोशी अझै पनि केन्द्र सरकार र प्रदेश सरकारले संघीयताको मर्मलाई बुझ्न नसकेको गुनासो गर्छन् । संघले स्थानीय तहलाई अधिकारै दिन नचाहेको र स्थानीय तहले गर्नुपर्ने काममा संघ र प्रदेशले हस्तक्षेप गर्दा स्थानीय जनताका आवश्यकता पूरा हुन नसकेको उनको बुझाइ छ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयन र सहकार्य अपरिहार्य रहेको नगरप्रमुख जोशीको धारणा छ । उनले आगामी ५ वर्षमा सुशासनयुक्त र समृद्ध दशरथचन्द नगर बनाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

दशरथचन्द नगरपालिकाका प्रमुख लक्का भाइ उर्फ पुष्करराज जोशीसँग पालिका खबरकर्मी जनकराज पण्डितले गरेको कुराकानीको सम्पादित अंश ।