close

निवर्तमान जनप्रतिनिधिका राम्रा काम पछ्याउने छु : अध्यक्ष साउँद (भिडियो कुराकानी)

निवर्तमान जनप्रतिनिधिका राम्रा काम पछ्याउने छु : अध्यक्ष साउँद (भिडियो कुराकानी)

ADVERTISEMENT

अछाम । ऐतिहासिक दृष्टिकोणले अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको आफ्नै विशेषता छ ।

मेल्लेखमा ८ वटा वडा छन् । जिल्लाको सदरमुकाम मंगलसेनदेखि उत्तर तथा साँफेबगरदेखि १४ किलोमिटर टाढा रहेको छ । यस गाउँपालिकाको पूर्वमा रामाराशोन गाउँपालिका, पश्चिममा, साँफेबगर नगरपालिका, उत्तरमा बाजुरा जिल्ला र दक्षिणमा बान्नीगढी जयगढ गाउँपालिका रहेका छन् । मेल्लेख गाउँपालिकाको कार्यालय समुन्द्री सतहदेखि १६९८ मिटरको उचाइमा छ ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा यो गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका ज्वालासिंह साउँद निर्वाचित भएका छन् । अध्यक्ष साउँदले आफ्नो ५ बर्षे कार्यकालमा जनताका आधारभूत आवश्यकताहरू पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । पहिलो कार्यकालका जनप्रतिनिधिले गरेका सुधार र सकारात्मक कामहरूको जिम्मा लिने र पालिकालाई समृद्ध बनाउन शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उनको योजना छ । 

अध्यक्ष साउँदले मेल्लेख गाउँपालिकामा सडक पूर्वाधारका विषयमा बनेका सडकको स्तरोन्नति, ग्राभेल सडकलाई पिच, कच्ची सडकमा नाला खन्ने काम, सबै वडामा स्वास्थ्य केन्द्र, नमुना विद्यालय बनाउने लगायतका योजना अघि सारेका छन् । त्यसैगरी पहिलो कार्यकालका जनप्रतिनिधिले अघि सारेको उद्योगग्राम मार्फत नै कृषकहरूलाई जोड्ने उनको सोच छ । 

अध्यक्ष साउँदले उद्योगग्राममार्फत नै यहाँका युवापुस्तालाई कृषिसँग जोड्ने गरी संरचनाहरू बनिसकेका छन् । उद्योगग्राममा यहाँका स्थानीयले उत्पादन गरेका कृषिजन्य उपजलाई ब्रान्डिङ गरेर बजारसम्म पुर्‍याउने अठोट लिएका छन् । त्यसरी नै यसअघिका जनप्रतिनिधिले अघि सारेका सुलभ मूल्यमा आयोडिन नुन उपलब्ध गराउने योजनालाई समेत निरन्तरता दिने भएका छन् । त्यसैगरी गाउँपालिकाले दिँदै आएको नगर बस सेवा बिस्तार गर्नेमा उनको जोड छ । 

कृषिमा निकै सम्भावना बोकेको यस पालिकामा परम्परागत बालीका रुपमा रहेका टिमुर, बेसार, अदुवा, लसुनको व्यावसायिक खेती गर्ने र कृषकहरूलाई चक्लाबन्दी खेतीतर्फ आकर्षित गर्दै बढ्दो बेरोजगारीको समस्या हटाउने अध्यक्ष साउँदको योजना छ । त्यसैगरी शैक्षिक गुणस्तरमा वृद्धि गर्न प्राविधिक र व्यावसायिक शिक्षालाई बढावा दिइने उनले जानकारी दिए । पालिकाखबरकर्मी जनकराज पण्डितसँग कुरा गर्दै उनले समृद्ध गाउँपालिका बनाउन र सुशासनको प्रत्याभूति दिलाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।