close

वडाकाे सहयाेगमा सामुहिक पुष्प खेतीबाट मनग्य आम्दानी

वडाकाे सहयाेगमा सामुहिक पुष्प खेतीबाट मनग्य आम्दानी

Trulli
ADVERTISEMENT

नवलपरासी - देवचुली नगरपालिकाकाे वडा नम्बर १२ ले सामूहिक पुष्प खेतीकाे लागि सहयाेग गरेकाे छ । वडा कार्यालयले बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन  सामूहिक पुष्प खेती सहयाेग गरेकाे हाे ।

देवचुली–१२  वडाध्यक्ष लोकप्रसाद भुर्तेलका अनुसार  आर्थिक तथा  कृषि शाखाले प्राविधिक सहयोग गरेसँगै यहाँ सामूहिक पुष्प खेती गरिएको हाे । वडाध्यक्ष भुर्तेलले भने,  'युवालाई रोजगारसँग जोड्ने वडाको योजनाअनुसार पहिलो चरणमा पुष्प खेती सुरु गरिएको छ, क्रमशः अन्य आयमूलक क्रियाकलापमा जोड्ने लक्ष्य छ ।'

भौतिक पूर्वाधार मात्र विकास नभई मानवीय विकासलाई पनि प्राथमिकता दिनुपर्ने मान्यताका साथ बेरोजगारलाई स्वरोजगार बनाउने अभियानमा वडा रहेको उनले सुनाए ।  

वडाको सहयोगमा लक्ष्मीपुरमा १३ जना र प्रगतिटोलमा १२ जनाले सामूहिक सयपत्री फूल खेती सुरु गरेको उनले बताए । मङ्सिरसम्म पुष्प खेतीमा हुने र त्यसपछि तरकारी खेतीलगायतका स्वरोजगार कार्यलाई वडाले लगानी गर्ने उनको भनाइ छ । 

देवचुली नगरपालिकामा भएका सङ्घसंस्थाका कार्यक्रममा खादा प्रयोग नगरी किसानले उत्पादन गरेका फूलका मालाको प्रयोग गर्न उनले आग्रहसमेत गरे । अब फूल तयारी हुने क्रममा रहेकाले खादाभन्दा स्थानीय रुपमा उत्पादन हुने फूलको प्रयोगमा जोड दिन आवश्यक रहेको उनको भनाइ छ । 

फूल आवश्यक पर्नेका लागि थुँगा, माला बनाएर दिइने प्रगतिटोल पुष्प खेती समूहकी सीता रेग्मीले बताए । फूल बिक्रीबाट आएको रकमबाट आफ्नो सामान्य घरखर्च चल्ने उनको अपेक्षा रहेको छ । 

देवचुली–१२ मा कर्मा पाँच सय ५५, कर्मा एक सय ११ र कलकतिया प्रजातिका फूल लगाइएको देवचुली नगरपालिका कृषि शाखाका प्राविधिक नरेन्द्र भण्डारीले बताए । कलकतिया प्रजाति केही ढिलो फूलने गरेको र  कर्मा जातका फूल सामूहिक पुष्प खेती गरेको स्थानमा फुलिरहेको उनले बताए । फूल स्वस्थ र राम्रो रहेको साथै अब सबै मिलेर बजारीकरणका लागि पहल गर्नुपर्ने उनले बताए ।