close

बागमती सरकारमा कांग्रेस निर्णायक, ओली पक्षले अविश्वासको सामना गर्ने

बागमती सरकारमा कांग्रेस निर्णायक, ओली पक्षले अविश्वासको सामना गर्ने

Trulli
ADVERTISEMENT

मकवानपुर- बागमती सरकारका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध उनकै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले ४५ सांसदको हस्ताक्षर गर्दै अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै कांग्रेसलाई आफ्नो पक्षमा ल्याउन दुवै पक्षले लविङ थालेका छन् ।

 

११० सदस्यीय प्रदेशसभामा नेकपाका ८० सांसद छन् भने कांग्रेसका २२ सदस्य छन् । राप्रपा र नेमकिपाका दुई-दुई जना सांसद छन् भने विवेकशील साझाका तीन र एक जना स्वतन्त्र सांसद छन् ।

 

प्रचण्ड-नेपाल पक्षलाई डोरमणि पौडेल नेतृत्वको सरकार ढाल्न अब १० जना प्रदेश सदस्य आवश्यक पर्छ । विवेकशील साझा, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसदले समर्थन गरे पनि बहुमत जुट्दैन ।

 

बहुमत जुटाउन अब प्रचण्ड-माधव पक्षले कांग्रेसको साथ पाउनुपर्छ । कांग्रेसका दुई जना सांसदले समर्थन गरेको खण्डमा मात्र पौडेलविरुद्धको अविश्वासको प्रस्ताव पारित हुन सक्छ ।

 

नेमकिपा र राप्रपाले प्रतिनिधिसभा विघटन गर्ने ओली कदमको समर्थन गरेका कारण यी सांसद प्रचण्ड-नेपाल खेमामा लाग्ने संभावना नरहेको ओली पक्षका एक प्रदेश सांसद बताउँछन् ।

 

कांग्रेस निर्णायक शक्ति हुने भएपछि दुवै पक्षले कांग्रेसको समर्थन जुटाउन लविङ थालेका हुन् ।

 

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको प्रचण्ड-नेपाल खेमाले बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अघि सारेको छ ।

 

बागतमी सरकारमा रहेका प्रचण्ड-नेपाल पक्षीय तीन जना मन्त्रीले राजीनामा दिएलगत्तै ४५ जना सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।


अविश्वासको प्रस्तावमा शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । कांग्रेस निर्णायक हुने भएपछि ओली पक्षले अविश्वासको सामना गर्ने भएको छ । ओली पक्षीय एक जना प्रदेश सांसदका अनुसार अविश्वासको प्रस्ताव सामना गरेर पौडेल सरकारलाई जोगाउने प्रयास सुरु भइसकेको छ ।

 

तर, प्रचण्ड पक्षीय एक सांसद भने कांग्रेसले अविश्वासमा साथ दिने भएकाले पौडेल सरकार ढल्ने निश्चित भएको दाबी गर्छन् ।