close

‘मुख्यमन्त्रीलाई प्रदेशसभा विघटन गर्ने अधिकार छैन’

‘मुख्यमन्त्रीलाई प्रदेशसभा विघटन गर्ने अधिकार छैन’

Trulli
ADVERTISEMENT

मकवानपुर– बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले प्रदेशसभा विघटन गर्ने अधिकार मुख्यमन्त्रीलाई नभएको बताएका छन् ।


शुक्रबार मन्त्रीबाट राजीनामा दिएपछि प्रतिक्रिया दिँदै जमकट्टेलले प्रदेशसभा विघटन गर्ने अधिकार मुख्यमन्त्री डोरमणि पौडेललाई नभएको बताएका हुन् ।


उनै जमकट्टेल प्रस्तावक रहेर आजै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले हस्ताक्षर गरी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।


नेकपा संसदीय दलमा मुख्यमन्त्री पौडेलसँग पराजित भएकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ । संसदीय दलको मतदानमा पौडेलले ३४ मत पाएका थिए भने शाक्यले २४ मत मात्र पाएकी थिइन् ।


आन्तरिक मामिला तथा कानुनमन्त्री जमकट्टेलले भने, ‘मुख्यमन्त्रीलाई प्रदेशसभा विघटन गर्ने अधिकार संविधानले दिएको छैन । उहाँले दिएको अभिव्यक्तिमा कुनै पनि तुक छैन ।’


उनले प्रदेशसभाले चाँडै अविश्वासको प्रस्तावको विषयमा छिनोफानो गर्ने जानकारी दिए । ‘हामीले सभामुख सानुकुमार श्रेष्ठलाई यस विषयमा जानकारी गराएका छौँ । छिटोभन्दा छिटो अविश्वासको प्रस्तावलाई प्रक्रियामा लगेर टुंगो लगाउन आग्रह गरेका छौँ । आशा छ, माननीय सभामुखले हाम्रो कुरालाई नजरअन्दाज गर्नुहुँदैन ।’


उनले मुख्यमन्त्री पौडेल दिशाविहीन, निर्णयविहीन भएको र मन्त्रिपरिषद् तथा संसदीय दलको सल्लाह, सुझावलाई बेवास्ता गर्दै आइरहेको आरोप लगाए । मुख्यमन्त्रीकै कारण जनताप्रति सरकार जवाफदेहीविहीन बन्दै जान लागेको कारण आफूसहित दुई मन्त्रीले राजीनामा दिएको जमकट्टेलले बताए । उनले पार्टी एकतालाई बचाउन सधैँ प्रतिबद्ध र सक्रिय रहने धारणा राखे ।


जमकट्टेलसँगै सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पयर्टन, वन तथा वातावरणमन्त्री अरुण नेपालले राजीनामा दिएका छन् ।


मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको समर्थकमा मन्त्री नेपाल छन् । जमकट्टेल र दुलाल पूर्वमाओवादीको तर्फबाट र नेपाल पूर्वएमालेतर्फ माधव नेपालको सिफारिसमा मन्त्री भएका थिए ।


बागमती प्रदेशको स्थायी राजधानी हेटौँडालाई स्थायी राजधानीका रूपमा घोषणा गर्दा बखत नै मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी थियो । त्यति बेलै अविश्वासको प्रस्तावमा हस्ताक्षर भए पनि दर्ता भएको थिएन । ओली पक्षका मुख्यमन्त्री पौडेल सरकार गठन भएदेखि नै अल्पमतमा छन् । ११० जना सदस्य रहेको बागमती प्रदेशसभामा ५६ जनाले बहुमत पुग्छ ।


प्रदेशसभामा नेकपाका ८० जना छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका तीन, राप्रपाका दुई, नेमकिपा दुई र स्वतन्त्र सांसद् एक जना छन् । नेकपाका ८० सांसदमध्ये ओली पक्षका ३४ जना सांसद छन् भने दाहाल–नेपाल पक्षका ४६ जना सांसद छन् ।