close

पुर्ख्याैली जिल्लामा ओलीको पक्षमा दुई गाउँपालिका उपाध्यक्ष मात्र ! यस्तो छ अंक गणित

पुर्ख्याैली जिल्लामा ओलीको पक्षमा दुई गाउँपालिका उपाध्यक्ष मात्र ! यस्तो छ अंक गणित

Trulli
ADVERTISEMENT

तेह्रथुम– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादले प्रधानमन्त्री केपी ओली र माधव नेपाल–प्रचण्ड समर्थक दुई चिरा भएपछि यसको बाछिटा तेह्रथुममा पनि देखिएको छ ।


नेकपाको विवाद छताछुल्ल भएसँगै प्रधानमन्त्रीको गृहजिल्ला तेह्रथुममा भने ओली समूह कमजोर देखिएको छ । प्रचण्ड–नेपाल समूहले यसको लाभ लिने संकेत देखिएको छ ।


जिल्लाका नेकपा कार्यकर्ता पर्ख र हेरको रणनीतिमा रहे पनि अधिकांश नेता नेपाल–प्रचण्ड पक्षमा खुलेका छन् । नेकपा कार्यकर्ता सूर्य चिह्न जसले पाउँछ, उसैलाई समर्थन गर्ने मुडमा छन् । जुन समूहले सूर्य लिन्छ, तेह्रथुमको राजनीतिक माहोल त्यतैतिर मोडिने देखिन्छ ।


गणितीय हिसाबमा भने नेपाल र प्रचण्ड समूह बलियो देखिएको छ । एक सय ३७ सदस्य रहेको जिल्ला कमिटीमा पूर्वएमालेका ८५ जना रहेका छन् । बाँकी ५२ जना पूर्वमाओवादी खेमाका हुन् ।


‘जनतामाझ लोकप्रिय रहेको सूर्य चिह्न कसले हात पार्ने हो, त्यसपछि मात्र कित्ताकाटको बाटो खुल्छ’, नेकपा जिल्ला कमिटी सचिव इन्द्र इम्सुङ भन्छन् । अदालतको फैसलापछि मात्रै दुवै समूह कता लाग्ने भन्ने विषय टुंगोमा पुग्ने इम्सुङ बताउँछन् ।


६ वटा स्थानीय तह रहेको जिल्लामा नगरपालिका, गाँ्उँपालिका संगठन कमिटीका अध्यक्षव सचिव प्रचण्ड–नेपाल समूहकै रहेको दाबी उनको छ ।


६ स्थानीय तह रहेको तेह्रथुममा स्थानीय चुनावमा पाँच स्थानमा तत्कालीन एमालेले सरकार निर्माण गरेको छ । यद्यपि चार स्थानीय निकायका प्रमुख क्रमशः फेदाप, आठराई, मेन्छयायेम, छथर गाउँपालिका प्रचण्ड–नेपाल समूहमा खुलेका छन् ।


जिल्ला सदरमुकाम रहेको म्याङलुङ नगरपालिका प्रमुख भने हालसम्म कुनै गुटमा नखुलेको सचिव इम्सङले जानकारी दिए ।


तेह्रथुममा नेकपा चिरा परेसँगै प्रधानमन्त्री ओली समूहलाई खुला रूपले समर्थन गर्ने जनप्रतिनिधिमा प्रदेश ‘ख’ निर्वाचन क्षेत्रका प्रदेश सांसद तेजमान कन्दङ्वासहित आठराई गाउँपालिका उपाध्यक्ष रुपादेवी कन्दङ्वा र छथर गाउँपालिका उपाध्यक्ष तारा खरेल ढकाल रहेका छन् ।


केन्द्रीय कमिटीमा मनोनीत भएका कन्दङ्वा जिल्लाका पुराना नेताको रूपमा चिनिन्छन् । माक्र्सवाद अध्ययनमा दक्खल राख्ने कन्दङ्वा ओली समूहमा देखिएसँगै प्रचण्ड– नेपाल पक्षलाई केही असहज हुने देखिन्छ ।


प्रधानमन्त्री ओली समूहको नेकपाले एक हजार एक सय ९९ केन्द्रीय कमिटी विस्तार गरेसँगै सपथका लागि काठमाडौँ पुगेकी आठराई गाउँपालिका उपाध्यक्ष कन्दङ्वाले आफू ओली नेकपामा अडिग रहेको टेलिफोनमा बताइन् ।


‘नेकपाका अरू दुई नेताको कुर्सी मोहका कारण देश संकटमा परेको हो । स्थानीय सरकारको जिम्मेवारीमा रहेकाले संघीय प्रतिनिधिसभा विघटनले विकास योजना सञ्चालमा कुनै असर पर्दैन’, उनले भनिन् ।


उपाध्यक्ष कन्दङ्वाले स्थानीय निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनलाई नौ सय ३० भन्दा बढी मतान्तरले पराजित गरेकी थिइन् ।


यस्तै, छथर गाउँपालिका उपाध्यक्ष तारा खरेल ढकाल पनि ओली समूहमा देखिएकी छन् । नेकपा एमालेको टिमबाट जिल्ला कमिटी सदस्य रहेकी ढकालले प्रधानमन्त्री ओलीको विचार र कम्युनिस्ट पार्टीको सिद्धान्तमा अडिग रहेको प्रस्टीकरण दिइन् ।


महिला भएकै कारण नेता नेपाल–प्रचण्ड समूहले गुटगत आँखाले हेरे त्यसको सामना गर्न तयार रहेको टेलिफोनमार्फत उनले जानकारी दिइन् ।