close

नेकपामा गुट नमिलेपछि गाउँपालिका उपाध्यक्षको पद नै चट !

अध्यक्ष भन्छन् राजीनामा दर्ता भयो, उपाध्यक्ष भन्छिन्ः किर्ते गरेर फसाइयो

नेकपामा गुट नमिलेपछि गाउँपालिका उपाध्यक्षको पद नै चट !

अध्यक्ष भन्छन् राजीनामा दर्ता भयो, उपाध्यक्ष भन्छिन्ः किर्ते गरेर फसाइयो

Trulli
ADVERTISEMENT

मकवानपुर– मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफूले राजीनामा नदिएको भन्दै गाउँपालिका अध्यक्षका छोरा र कर्मचारीले फसाएको आरोप लगाएकी छन् ।


तर विष्टले २९ मंसिरको मिति राखेर दिएको राजीनामा १९ पुस शुक्रबार गाउँपालिकामा दर्ता भएको छ । करिब २० दिनअघि दिएको राजीनामा एकाएक गाउँपालिकामा दर्ता भएपछि उपाध्यक्ष विष्टले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफूले राजीनामा नदिएको दावी गरिन् ।

 

अध्यक्ष भन्छन्: राजीनामा दर्ता भइसक्याे


उनले राजीनामा नदिएको दावी गरिरहँदा भने पालिका खबरलाई उनको राजीनामा पत्र गाउँपालिका स्रोतले उपलब्ध गराएको छ ।


गाउँपालिका अध्यक्ष एकराज उप्रेतीसँग एक वर्षदेखि विष्टको मनमुटाव थियो । उनले अध्यक्ष उप्रेतीलाई घुर्काउन दिइएको राजीनामा विष्टको लागि घातक सावित भएको छ ।

 

तत्कालीन एमालेबाट निर्वाचित हुँदै अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष विष्ट मनहरी गाउँपालिकाको नेतृत्व सम्हाल्न आइपुगेका थिए । सुरुवातदेखि नै मनमुटाव रहेपनि विष्टले गत २९ मंसिरमा काम गर्ने वातावरण नभएको र आफूलाई हेपिएको भन्दै अध्यक्ष उप्रेतीसमक्ष राजीनामा दिएकी थिइन् ।

 

‘उपाध्यक्षज्यूले मलाई २९ मंसिरमा राजीनामा पत्र दिनुभएको थियो । गत शुक्रबार गाउँपालिकामा राजीनामा दर्ता भएको छ । अब उहाँ उपाध्यक्ष रहनुभएन’, अध्यक्ष उप्रेतीले पालिका खबरसँग भने ।


के छ संविधानमा ?


विष्टले दिएको राजीनामा दर्ता भएसँगै उनी स्वतः पदमुक्त भएकी छन् । संविधानतः तीन किसिमले उपाध्यक्ष पदमुक्त हुने व्यवस्था छ । नेपालको संविधान २०७२ को भाग १७ स्थानीय कार्यपालिकाअन्तर्गत धारा २१५ को उपधारा ८ (क) मा अध्यक्षले उपाध्यक्ष समक्ष र उपाध्यक्षले अध्यक्ष समक्ष राजीनामा दिएमा, (ख) मा निजको पदावधि समाप्त भएमा र (ग) मा निजको मृत्यु भएमा पद रिक्त रहने व्यवस्था छ ।


गुट नमिलेपछि राजीनामा स्वीकृत


स्थानीय नेकपाका नेता कार्यकर्ता भने पार्टीको गुट नमिलेपछि अध्यक्षले २९ मंसिरमा दिएको राजीनामा १९ पुसमा आएर गाउँपालिकामा दर्ता गराइदिएको बताएका छन् ।

 

नेकपाको कित्ताकाट हुँदा अध्यक्ष उप्रेती नेकपा ओली समूहमा र उपाध्यक्ष विष्ट नेकपा दाहाल–नेपाल समूहमा विभाजित भए । राजीनामा दिएको करिब २० दिनसम्म पनि दर्ता नभएको विषय भने अनुतरित्त छ । पार्टी विभाजनको असरका कारण पनि लामो समयपछि उपाध्यक्ष विष्टको राजीनामा दर्ता भएको चर्चा चलेको छ ।


‘अध्यक्षका छोरा र कर्मचारीले फसाए’


आफ्नो राजीनामा दर्ता भएपछि आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष विष्टले अध्यक्ष एकराज उप्रेतीका छोरा विकास र गाउँपालिकाकै कर्मचारी डिल्लीराम रेग्मीले आफूलाई फसाएको आरोप लगाएकी छन् ।

 

विष्टले आफूमाथि षडयन्त्र रचिएको र आफूले राजीनामा नदिएको भन्दै न्यायलय जाने बताएकी छन् । विष्टले गाउँपालिकाका कर्मचारी डिल्ली रेग्मीले षडयन्त्र गरेर आफूलाई बदनाम गराएको र अध्यक्षका छोराले किर्ते राजीनामा पत्र दर्ता गर्न दबाब दिएको उनको आरोप छ ।

 

‘कर्मचारी रेग्मीसँग मेरो १ वर्षदेखि राम्रो थिएन । उसले मलाई फसाउन खोजिरहेको थियो । रेग्मी र अध्यक्षज्यूका छोराले मैले दिँदै नदिएको राजीनामा दर्ता गर्न दबाब दिएका थिए’, उनले भनिन् ।

 

विष्टले एकवर्ष अघिदेखि कर्मचारी रेग्मीले आफूले फसाउन खोजेको र हाल आएर राजीनामा स्वीकृत भएको भन्दै बदनाम गराएको आरोप लगाएकी हुन् । ‘मलाई यसअघि पनि फसाउन खोजिएको थियो, त्यतिबेला म उम्किन सफल भएँ । अहिले योजना बुनेर ममाथि अन्याय भएको छ ।’, विष्टले भनिन् ।