close

नेकपा नेताका पुनर्मिलनः कुर्सी कूटनीतिबीच ओझेलमा झलनाथ 

नेकपा नेताका पुनर्मिलनः कुर्सी कूटनीतिबीच ओझेलमा झलनाथ 

Trulli
ADVERTISEMENT

 

काठमाडौं– गत २५ कात्तिकमा बालुवाटारबाट विच्छेद भएको एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच आजबाट सम्वाद सुरु भएको छ । नेकपाको हैसियतमा टुटेको सम्वन्ध एमालेको हैसियतमा तिक्ततापूर्ण अवस्थामा जुटिरहदा ओलीले पार्टी मुख्यालयमा कुर्सी कुटनीतिमार्फत माधव नेपाललाई एकै ठाउँ राख्ने सन्देश दिएका छन् । 


नेकपाको प्रचण्ड खेमामा हुँदा किस्ताबन्दीमा ४ पटकसम्म ओलीलाई जिम्मेवारी र पार्टीको साधारणसदस्यबाट समेत हटाउन अग्रसरता देखाएका नेपाललाई ‘तह लगाउन’ ओलीले विदेश विभागको जिम्मेवारी खोसे । उनी निकटका नेताका पनि जिम्मेवारी खोसियो । 


ओलीको यो ‘एकलौटी निर्णय’ विरुद्ध नेपाल–खनाल पक्षले राष्ट्रिय भेला डाकेपछि वालुवाटार छाडेर पार्टी मुख्यालयमा ओलीले सम्वादको सुरुआत गरेका छन् । 


सम्वादका क्रममा पार्टी जिम्मेवारीबाट हटाइएका नेताहरूलाई नवौ महाधिवेशनले दिएको पदीय जिम्मेवारी र हैसियत अनुसारकै कुर्सी व्यवस्थापन गरेर ओलीले नेपाललाई ‘कुर्सीप्रतिको असन्तुष्टि मेट्नुस्’ भन्ने सन्देश दिएका छन् । 


नेकपाको हैसियतमा बालुवाटारमा भएका थुप्रै बैठकमा नेपालले ओलीको आसन अग्लो भएको भन्दै आफैँ अग्रसरता देखाएर हटाएका थिए । जतिवेला ओली मिर्गौला फेरेर आराममा थिए । 

 

ओलीको एकलौटी सरकार संचालन गर्ने नीतिप्रति असन्तुष्ट नेपालले कुर्सी हुँदै ओलीको अध्यक्ष पदमै धावा बोलेपछि सर्वोच्च अदालतको एउटा फैसलाले नाटकीय रुपमा पुरानै घरमा फर्काइदिएसँगै एक सातासम्म पुरानै तुषमा आ–आफ्नो बाटो हिँडे ओली र नेपाल । 

 

आजको धुम्वाराही सम्वादले नेकपा अव कुर्सीको लडाइँमा लाग्दैन भन्ने सन्देश दिएपनि ओलीपछिको दोस्रो वरीयताका नेता झलनाथ खनालको अनुपस्थितिले भने नेकपा पुनर्मिलनमा अझै समस्या रहेको देखाएको छ । 

 

माधव नेपाल खेमाका नेतासँग भएको सम्वादमा ओलीले वरिष्ठ नेता खनाललाई बोलाएनन् । तर निम्ता पाएका नेपालले ओलीसँगको भेट अघि खनालसँग परामर्श गरे । 

 

खनालसँग परामर्श गरेपनि नेपालले समेत ‘ओलीसँग सम्वाद थाल्न हिड्नुस्’ भनेर नभनेको खनाल निकट एक नेताले पालिकाखबरलाई बताए । 

 

लामो तिक्ततापूर्ण सम्वन्धपछिको भेटबाट ठोस निष्कर्ष निस्कन बाँकी भएपनि ओली पक्ष नेपाललाई विश्वासमा लिएर माओवादी केन्द्र छाडेर आएका वादललगायतका नेतालाई पार्टीमा सम्मानजनक हैसियत दिन चाहन्छ । तर नेपाल पक्षभने यी नेताको व्यवस्थापनअघि  एकताअघिको  एमाले केन्द्रीय कमिटी बैठक बसेर मात्र गर्न चाहन्छ । 


नेपाल खेमा एमालेको पदाधिकारीमा बलियो हैसियतमा छ । पार्टी विधान अनुसार पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नुपर्नेमा ओलीले एकलौटी निर्णय गरेकामा नेपाल पक्षको आपत्ति छ । 

 

तर ओली पक्ष पदाधिकारी बसेर एजेण्डा तय गर्दा नेपाल पक्षको बहुमत हुने भएकाले माओवादीबाट आएकालाई उचित जिम्मेवारी दिन नसकिने देखेरै एकलौटी निर्णयमा पुगेको हो । 

 

ओली पक्षका एक नेताका अनुसार नेपाल समूहलाई पेल्ने नियतभन्दा माओवादीबाट आएका नेताको सहज व्यवस्थापन गर्नका लागि मात्र ओलीले पुनर्मिलन बैठक अगावै विधान संशोधनको निर्णय गराएका हुन् । 

 

तर नेपाल खेमाका नेता माओवादीबाट आएका नेताको व्यवस्थापन ओली एक्लैले गर्न नमिल्ने बताउँछन् । माओवादी नेताको व्यवस्थापनका क्रममा नेपाल खेमाका नेताहरूको जिम्मेवारी खोसिएपछि रुष्ट बनेका नेपालले २८ माघको ओली पक्षीय केन्द्रीय कमिटीको निर्णय शून्यमा झार्नुपर्ने सर्त राखेको छ । 

 

आजको भेटमा ओलीले मौन बसेर नेपालको प्रस्तावलाई ‘विचार गर्छु’ भन्ने सन्देश दिएका छन् । एउटै भेटमा ‘हुन्छ या हुन्न’ भनेर स्पष्ट जवाफ दिने गरेका ओलीको यो मौनतालाई भने नेपाल पक्षधर नेताले ‘ओली लचक हुने संकेत’ का रुपमा वुझेका छन् । 

 

तर ओली खेमाका नेताहरू भने ओलीको यो मौनता ७ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा नेपाल र खनाल पक्षधर नेताले देखाउने व्यवहार हेर्ने र उनीहरूले डाकेको कार्यकर्ता भेला स्थगन हुने/नहुने बुझेर मात्र निष्कर्षमा पुग्ने बताउँछन् । 

 

‘ओलीको मौनता भनेको आगामी बैठक र नेपाल खेमाले बोलाएको कार्यकर्ता भेला के हुन्छ भन्नेमा अड्किएको छ, उहाँहरू नरम हुनुभयो भने हामी नरम नहुने कुरै आउँदैन,’ ती नेता भन्छन् । 

 

एमाले नेताबीच पुनर्मिलनमा यतिवेला दुवै पक्षधर ‘पर्ख र हेर’ मा पुगेलगत्तै नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक स्थगन गर्नु र पुनर्मिलनको पहिलो छलफलमा झलनाथ खनाललाई ओली र नेपाल दुवैैले वेवास्ता गर्नुलाई भने राजनीतिक विश्लेषकहरूले शंकाको दृष्टिले हेरेका छन् ।