close

गोदावरीमा जे देखियो... ओलीलाई जयजयकारसहितको उपहार

गोदावरीमा जे देखियो... ओलीलाई जयजयकारसहितको उपहार

Trulli
ADVERTISEMENT

काठमाडौं– ललितपुरको गोदावरीमा शुक्रबारबाट एमालेको विधान महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा सहभागी हुन देशभरका कार्यकर्ता, प्रतिनिधि काठमाडौं ओइरिएका छन् । 


महाधिवेशन स्थलमा पार्टी अध्यक्ष केपी ओलीलाई राजा÷महाराजाजस्तो बनाएर नेता, कार्यकर्ताले ब्यानरदेखि सिंगो तस्बिरसमेत यत्रतत्र टाँसेको देखियो । महाधिवेशन सुरु हुनुअघि युवा संघले ग्वार्कोमा चक्रपथको मुख्य लेनै अवरुद्ध गरेर कार्यकर्तालाई बाइकमा लाम लगाएको थियो । त्यसपछि अध्यक्ष ओलीलाई अगडि लगाएर कार्यकर्ता नारा, जुलुससहित गोदावरी लागेका थिए । तर, सडक अवरुद्ध हुँदा धेरै यात्रुले जाममा रोकिनुपरेको उनीहरूलाई हेक्कै भएन ।

 

सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्थ्यो । अध्यक्ष ओलीसहितका कार्यकर्ताको लहर सातदोबाटो गोदावरी गइरहँदा भित्री वस्तीका स्थानीयले घरबाहिर निस्केर नियालिरहेका दृश्य देखिए । जुलुसले सडक धुलाम्य बनाएको थियो । सुरक्षाकर्मी अन्य सडकका यात्रु रोकेरै कार्यकर्तालाई अगाडिको बाटो सुबिस्ता दिइरहेका थिए । कार्यकर्ताका मोटरसाइकल र गाडीले सडकका दुई छेउ भरिएका थिए । कार्यक्रम हुने स्थल गोदावरी सभाहलमा सुरक्षाकर्मीको तैनाथी बाक्लै थियो ।


ओली कार्यकालयमा सुरु गरी हालै निर्माण सम्पन्न हुने तयारीमा रहेको गोदावरी सभाहल वरपर ओली नै छाएका देखिन्थे । महाधिवेशन स्थलमा उनै ओलीका बाक्लै पोस्टर टाँसिएका थिए । 


सभाहलभित्र भित्र छिर्न सुरक्षा जाँच अनिवार्य थियो । गोदावरी हलभित्र भएको विधान महाधिवेशनको कार्यक्रमलाई त्यही राखिएको स्क्रिनमा पनि देखाइएको थियो । भित्री हलमा विधान महाधिवेशमा आएका प्रतिनिधि नअटेर बाहिरका दुई छेउको हलमा समेत स्क्रिन लाइभ थियो । 

 

महाधिवेशनमा कार्यकर्ताको उपस्थिति खचाखच देखिन्थ्यो । हल बाहिरपट्टि कार्यकर्ताको परिचयपत्र ओल्टाइपल्टाइ गर्नेको लाम देखिन्थ्यो । अर्को छेउ एमाले ब्रान्डका झोला बाँडिँदै थियो ।

 

महाधिवेशनमा उपस्थित कार्यकर्तालाई खाजा खुवाउन हलबाहिर टेन्ट टाँगेर व्यवस्था जोरजाम थियो । नेता, कार्यकर्ताका लागि दाल, भातदेखि मासु, अचारसम्मका खान्गी राखिएको थियो । महाधिवेशनमा देशैभरबाट प्रतिनिधि हुने भएकाले कार्यकर्ताको आउजाउ क्रम निरन्तर थियो । महाधिवेशनको पहिलो दिन पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरे । 


महाधिवेशनमा ओली बोल्नुअघि एउटा कार्यक्रममा राखिएको थियो । त्यो कार्यक्रममा बालबालिकाको एउटा समूहले ओलीलाई उपहार चढाउने मेसो मिलाइयो । पार्टी अध्यक्षलाई उपहार दिइने भनेपछि नेता, कार्यकर्ता सबैले चाख मानेर स्टेजमा नजर लगाइरहेका थिए । 


ओलीलाई बालिका अश्विनी भण्डारीको नेतृत्वमा उपहार दिइयो । उपहारमा ओलीको गुणगान गाइएको भिडियो थियो । सबै कार्यकर्तामाझ त्यसलाई देखाइयो । लगत्तै एमाले नेता प्रदीप ज्ञवालीले ‘तपाईंहरूलाई प्रचार सामग्री हुन्छ’ सबैको मोबाइलमा पठाइन्छ भनेर सुनाए । उपहार बुझेपछि भाषण थालेका ओलीले नेकपा फुटदेखि एमाले विभाजनसम्म भएका गतिविधिबारे लामै कटाक्ष गरे ।


ओलीको भाषण लामै भएपछि उनमा सामान्य स्वास्थ्य समस्या देखियो । त्यसपछि ओलीको प्रतिवेदन नेता शंकर पोखरेलले पढे ।