close

महोत्तरीमा पार्टी अधिवेशन : माओवादी केन्द्रको १०१ वडामै सर्वसम्मत, कांग्रेस र एमालेमा किचलो

महोत्तरीमा पार्टी अधिवेशन : माओवादी केन्द्रको १०१ वडामै सर्वसम्मत, कांग्रेस र एमालेमा किचलो

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीमा नेपाली कांग्रेस र नेकपा एमाले वडादेखि महाधिवेशन प्रतिनिधि चयन विवादमा अल्झिरहेका बेला नेकपा माओवादी केन्द्रले भने १०४ वटै वडामा सर्वसम्मत वडा सम्मेलन सम्पन्न गरेको छ ।


माओवादीले सार्वजनिक गरेको ४ महिने अभियानअन्तर्गत ४ मंसिरबाट सुरु भएको देशव्यापी वडा सम्मेलनको क्रममा महोत्तरीका १०१ वडामा विवादरहित ढंगले वडा अधिवेशन सम्पन्न भएको हो । बाँकी ३७ वडामा पनि दुई दिनभित्रै सहमतिमा सम्पन्न गर्ने नेकपा माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए ।

 

अन्य पार्टीभित्र देखिएको खिचातानीले धेरै गुट–उपगुट रहेको सहजै अनुमान लगाउन सकिन्छ । हाम्रो वडा अधिवेशनले जिल्लामा माओवादी केन्द्र एकढिक्का रहेको सन्देश दिएको छ’, उनले भने । सबै वडा सम्मेलनबाट सहमतिमै युवा र नयाँ अनुहार निर्वाचित भएको दाबी उनको छ ।
एमाले र कांग्रेसमा भने अझै विवाद कायमै छ । एमाले महोत्तरीले विवादै विवादका बीच महाअधिवेशन प्रतिनिधिको नाम पठाएपछि दुई पक्षबीच जुहारी चलेको छ । एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीले कोठे निर्णय गरेर नाम पठाएको भन्दै अर्को पक्षले आपत्ति जनाएको छ ।

 

कांग्रेस महोत्तरीको वडा अधिवेशनदेखि गुट–उपगुटका कारण थोरै स्थानमा मात्र सर्वसम्मत नेतृत्व चुनिएको छ । धेरैजसो ठाउँमा विवादका कारण निर्वाचन भए पनि कतिपय स्थानीय नेताहरूले निर्वाचन गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।

 

वडा अधिवेशनदेखि प्रदेश प्रतिनिधि चयन गर्न कांग्रेस महोत्तरीलाई कष्ट भएको छ । मनरासिस्वा वडा नम्बर ८ मा अझै अधिवेशन हुन सकेको छैन भने प्रदेश प्रतिनिधि बल्ल २ वटा निर्वाचन क्षेत्रमा टुंगिएको कांग्रेस महोत्तरीले जनाएको छ ।

 

एमालेको घरझगडामा नेकपा एकीकृत समाजवादीले लाभ लिने देखिएको छ । एमालेमा देखिएको झगडाका कारण महाधिवेशनपछि सबै जिल्लामा झगडा उत्कर्षमा पुग्ने देखिएकाले सोहीअनुसार तयारी गरिरहेको नेकपा एस प्रदेश २ इन्चार्ज धर्मदेव साह बताउँछन् ।

 

‘अहिले एमालेभित्रको विवादले हामीलाई फाइदा पुगेको छ । असन्तुष्ट नेताहरू हामीसँग आउने तयारी गर्दै छन् । अहिले धेरै जना एमाले नेताको नाम लिस्ट हामीसँग छ । पछि सार्वजनिक गर्नेछौँ’, उनले भने ।