close

कांग्रेस प्रदेश २ अधिवेशन सुरु हुँदै

कांग्रेस प्रदेश २ अधिवेशन सुरु हुँदै

Trulli
ADVERTISEMENT

महोत्तरी– प्रदेश २ का अधिकांश जिल्लामा वडा, पालिका र क्षेत्रीय अधिवेशनमा विवाद भए पनि कांग्रेस प्रदेश २ ले बिहीबारदेखि अधिवेशन गर्दै छ । अधिवेशनमा सभापतिका लागि रामसरोज यादव, महेन्द्रराय यादव र कृष्ण यादव गरी अहिलेसम्म ३ जना आकांक्षी देखिएका छन् ।


३ आकांक्षीमध्ये रामसरोज यादव र कृष्ण यादव विमेलेन्द्र निधि निकट मानिन्छन् भने महेन्द्र राय यादव संस्थापन पक्षका हुन् । प्रदेश २ मा विमलेन्द्र निधि प्यानलकै बढी वर्चस्व भएको हँुदा सोही समूहले जित हासिल गर्न सक्ने कतिपय नेताको आकलन छ । 

 

तर, जिल्लाबाट प्रत्येक उम्मेदवारलाई सहानुभूति भोट जाने हुँदा प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । प्रदेश २ का ८ वटै जिल्लामा अहिलेसम्म वडादेखि क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा विवाद देखिँदै आएको छ ।

 

आकांक्षीको संख्या बढी हुनु र गुट–उपगुटका कारण कांग्रेसको वडा स्तरमा समेत अधिवेशन हुन सकेको छैन । जिल्ला नेतृत्व भने विवाद भएका ठाउँ अहिले त्यत्तिकै छाड्ने र केन्द्रीय महाअधिवेशनपछि मात्र टुंग्याउने निर्णयमा पुगेको बताइन्छ ।


तर, अहिले पनि कांग्रेस महोत्तरीका कतिपय वडा, पालिका र क्षेत्रीय अधिवेशन अझै हुन सकेका छैनन् । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर ८ मा विवादका कारण अझै अधिवेशन हुन सकेको छैन ।


आकांक्षीबीच मतभेदका कारण अधिवेशनको बन्दसत्रमा हात हालाहालै भएको कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले बताए । यही वडाको विवादका कारण क्षेत्र ३ को क्षेत्रीय अधिबेशन अन्योलमा परेको छ । सकेसम्म विवाद मिलाउने नत्र वडा अधिवेशनलाई थाती राखेर अगाडि बढ्ने कांग्रेस महोत्तरीको तयारी छ । ‘अब वडाका साथीहरूका कारण क्षेत्रीय र केन्द्रीय प्रतिनिधि चयन हुनबाट वञ्चित बनेका छन् । त्यसको जिम्मा वडाले लिनुपर्छ’, कांगे्रस महोत्तरीका सभापति महेन्द्र राय यादवले भने ।


क्षेत्र ३ मा विवादका कारण वडा र क्षेत्रीय पदाधिकारी चयन गर्न सकस बनिरहेका बेला महाअधिवेशन प्रदेश प्रतिनिधि भने चयन भइसकेका छन् । त्यसैगरी बल्वा नगरपालिकामा पनि विवादका कारण अझै पालिका अधिवेशन सम्पन्न हुन सकेको छैन । बल्वा र मनरासिस्वा नगरपालिका गरी २ वटा पालिका र एउटा वडामा अधिवेशन हुन नसकेको हो ।


क्षेत्र २ र ४ मा सर्वसम्मत अधिवेशन सम्पन्न भएको छ भने क्षेत्र १ मा निर्वाचन भएको थियो । क्षेत्र ३ मा बिहीबार उद्घाटन सत्र रहेको कांग्रेस महोत्तरीका सचिव पाठकले जानकारी दिए । ‘सर्वसम्मत हुने सम्भावना अत्यन्त कम छ । त्यसैले चुनावी प्रक्रियामा गएरै भए पनि क्षेत्रीय अधिवेशन सम्पन्न गर्नेछौँ,’ उनले भने । क्षेत्रीय अधिवेशन सम्पन्न भए मनरासिस्वा वडा नम्बर ८ को वडा समितिले भने यो अधिवेशनमा भाग लिन पाउने छैन ।